November 28, 2023, Tuesday
२०८० मंसिर १२, मंगलवार

समाजलाई अघि बढाउन पत्रकारिताको अहम् भूमिका छ: सभामुख घिमिरे

काठमाडौं, असार २० गते । सभामुख देवराज घिमिरेले पत्रकारिता क्षेत्रले संसद्लाई राष्ट्रको हितमा काम गराउन महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउनुभएको छ ।

संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई आज यहाँ प्रमाणपत्र वितरण समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।

सभामुख घिमिरेले संसद्लाई सबल र राष्ट्रको हितमा काम गराउन पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो । संसदभित्र भएका समस्या र कमी कमजोरीलाई क्षमता र योग्यताले भ्याएसम्म व्यवस्थापन गर्दै जाने उहाँको भनाइ छ ।

उहाँले पत्रकारिता क्षेत्रले नेपाली समाजलाई अगाडि बढाउन विगतदेखि नै महत्त्वपूर्ण भूमिका खेलेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “पत्रकारितासँग सम्बन्धित तपाईँहरूको जिम्मेवारी भए पनि संसद् परिवारभित्रकै एउटा महत्त्वपूर्ण जिम्मेवारीमा रहेको संस्थाको रूपमा तपाईँहरू हुनुहुन्छ ।”

“संसदमा देखिएका समस्याहरू कमी, कमजोरी हाम्रो आफूभित्रका कुराहरू हुन् । हाम्रो क्षमता, योग्यताले भ्याएसम्म यसको व्यवस्थापन गर्दैजाने कुरामा जो–जो जहाँ–जहाँ भए पनि त्यो भूमिका निर्वाह हुने कुराको विश्वास दिलाउँछु” उहाँले भन्नुभयो ।

त्यसैगरी राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलहरू चुनाव जसरी पनि जित्नुपर्छ भन्ने मनोविज्ञानबाट मुक्त हुनुपर्ने बताउनुभयो । उहाँले चुनाव जसरी पनि जित्नुपर्ने नभई स्वस्थ प्रतिस्पर्धा गरेर जितेर आउनु राम्रो हुने धारणा राख्नुभयो ।

संसदीय बिटमा पत्रकारिता गर्ने पत्रकारलाई सङ्घीय संसदका पदाधिकारीहरू, संसद् सचिवालयलगायत सबैले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको