May 22, 2025, Thursday
२०८२ जेष्ठ १०, शुक्रबार

स्याङ्जा जिल्लाभरि फैलियो ठेउलाको संक्रमण

वालिङ, जेठ ३० गते-पछिल्लो समय गर्मीसँगै स्याङ्जा जिल्लाका विभिन्न भागमा ठेउला (चिकन पक्स) रोगको प्रकोप देखिएको छ ।पहिलो पटक वालिङमा देखिएको ठेउला जिल्लाका वालिङ, पुतलीबजार, कालीगण्डकी, चापाकोट लगायतका पालिकामा पनि देखिएको छ ।

0जिल्ला अस्पतालमा समेत ठेउलाका एक विरामी उपचारका क्रममा रहेको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले जानकारी दिनुभयो ।

पुतलीबजार नगरपालिका ३ का रोशनी माविमा १३ जना विद्यार्थीमा ठेउला देखिएपछि विद्यालयलाई आंशिक रुपमा बन्द गरिएको छ । यस्तै, चापाकोटको गङ्गालाल माविमा अध्ययनरत ६ जना विद्यार्थीमा पनि ठेउला देखिएको स्वास्थ्य प्रमुख शर्माले बताउनुभयो ।

कालीगण्डकी गाउँपालिकाको विर्घाका एक विद्यार्थीमा देखिएको छ भने अन्य विद्यालयका विद्यार्थीहरुमा पनि यसको प्रकोप देखिएको हुन सक्ने स्वास्थ्य प्रमुख शर्माको भनाइ छ।

जिल्लामा यस रोगबाट बच्नका लागि आवश्यक सतकर्ता अपनाईएको उहाँले बताउनुभयो, उहाँले भन्नुभयो, “रोगको संक्रमण जिल्लाभर फैलिएपछि हामीले विद्यालयहरुलाई सचेतनाका लागि अनुरोध गरेका छौं भने स्वाथ्यकर्मीहरु मार्फत् जनचेतना जगाउने काम गरिरहेका छौं ।”

यसैबीच समुदायमा संक्रमण फैलन नदिनका लागि एक हप्ताका लागि बन्द गरिएको वालिङ १२ को विद्यालय खुलेको छ भने अवस्था पनि सामान्य हुँदै गएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो ।

रोगको संक्रमण देखिएका विद्यार्थीहरुमा एउटै खालका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वोरो आउने समस्या देखिने गरेको गह्रौँ प्राथमिक अस्पतालका प्रमुख डाक्टर सुरज ढकालको भनाइ छ । रोग सरुवा भएकाले सामाजिक दुरी कायम गरी हावाबाट बच्न आग्रह गरिएको छ । समुदायमा सचेतना लगाउने, सावधानी अपनाउन आग्रह गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्याङ्जामा ठेउला हुनेहरूको रगतको नमुना प्रादेशिक प्रयोगशाला र राष्ट्रिय प्रयोगशालमा समेत पठाइएको छ । ठेउला भएपछि देखिने जटिलता आउनुअघि नै सचेत गराउनका लागि गण्डकी प्रदेशको सामाजिक तथा स्वास्थ्य मन्त्रालय र स्थानीय पालिकाहरू क्रियाशील भएको जनाएको छ ।

ठेउलाले साना बालबालिकालाई दुख दिन्छ । त्यसबाहेक वयस्क, वृद्धवृद्धालाई समेत यसले छाड्दैन । डा.ढकालका अनुसार ठेउला बेरिसेला जोस्टर नामको भाइरसको संक्रमणले हुन्छ, जो गर्मी याममा बढी सक्रिय हुने गर्दछ । यसले ८ वर्षदेखि १५ वर्ष उमेर समुहमा बढी आक्रमण गर्छ । परिवारको एउटा सदस्यमा ठेउला देखिनासाथ अर्कामा त्यो सर्ने सम्भावना बढी हुन्छ । त्यसैले यसबाट बच्नका लागि विशेष सावधानी अपनाउनु पर्ने उहाँको भनाइ छ ।