तारकेश्वर गाउँपालिकामा रहेका खाद्यान्न पसलहरुको अनुगमन,म्याद गुज्रिएका वस्तु वरामद

नुवाकोट- गुणस्तरियतामा जोड दिंदै नुवाकोटको तारकेश्वरमा खाद्यान्न पसलहरुको अनुगमन गरिएको छ । अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य सामग्री भेटिएको छ ।

तारकेश्वर गाउँपालिकाको २, ५ र ६ नं. वडामा रहेका खाद्यान्न पसलहरुको अनुगमन सम्पन्न भएको छ । सम्वन्धित वडाध्यक्ष तथा गापाका कर्मचारीहरुको नेतृत्वमा खाद्यान्न पसलहरुको अनुगमन गरिएको गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले जानकारी दिनुभयो ।

उहाँका अनुसार जनप्रतिनिधि तथा गाउँ प्रहरीसहितको टोलीले वडा नं २, ५ र ६ का अधिकांश पसलहरुको अनुगमन गरेको हो । अनुगमनका क्रममा म्याद गुज्रिएका र ढुसी परेका अखाद्य पदार्थ बरामद भएको छ ।

अनुगमनका क्रममा भेटिएका कैफियतले जनस्वास्थ्यको सवालमा स्थानीय सरकार क्रियाशील हुनुपर्ने भन्दै गाउँपालिका अध्यक्ष अधिकारीले जनताको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई कडा कारबाहीको चेतावनी दिनुभयो । पहिलो पटक व्यापारीलाई मापदण्डको पालना गरि सुध्रिन र उपभोक्तालाई सचेत रहन आग्रह गरिएको प्रमुख प्रशासकिय अधिकृत सीताराम थापाको भनाई छ ।

म्याद गुज्रिएका, ओसिएका, ढुसी आएका अखाद्य वस्तु तत्काल नष्ट गरिएको छ । अध्यक्ष अधिकारीले आगामी दिनमा यस्ता पदार्थ भेटिएमा आवस्यक कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् । अध्यक्ष अधिकारीका अनुसार गाउँपालिकले एकपटक सबै पसलहरुको अनुगमन गर्ने कार्य निरन्तर गरिरहेको छ ।

अनुगमनपछि पनि बेलाबेलामा छड्के जाँच गरिरहने छ । पहिलो पटकका लागि सामग्री जफत गरी चेतावनी मात्रै दिइएको भए पनि यसपछि हुने नियमित छड्के जाँचमा कुनै कैफियत भेटिए तुरुन्तै कारबाही गरिने अध्यक्ष अधिकारी बताउनुभयो ।

पालिकाले सवै पसलहरुले १५ दिनभित्र जनस्वास्थ्यका सबै मापदण्ड पूरा गर्न, गाउँपालिकामा व्यवसाय सूचीकृत गर्न र उपभोक्ताले देख्ने गरी मूल्यसूची टाँस्न सबै व्यापारीलाई आग्रह गरिएको छ । यसको पूर्ण पालनाका लागि उपभोक्ताको पनि साथ चाहिने र उपभोक्तालाई समेत जागरुक हुनु पर्नेमा जोड दिदै कुनै पनि पसलमा म्याद गुज्रिएका, सडेका वा ढुसी परेका सामग्री बिक्री गरेको पाइएमा तत्काल गाउँपालिकामा खबर गर्न उपभोक्तालाई तारकेश्वर गाउाँपालिकाले अनुरोध गरेको छ ।