April 17, 2024, Wednesday
२०८१ बैशाख ५, बुधबार

प्रचण्डले प्रधानमन्त्री पदबहाली गरेको पाँच महिना बढी भयो तर,सम्पत्ति विवरण सार्वजनिक गरेनन्

काठमाडौं, जेठ २५गते, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबहाली गरेको पाँच महिनाभन्दा बढी भयो । तर, उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री दाहालसहित १६ जना मन्त्रीको सम्पत्ति विवरणमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘वेबसाइट’मा सम्पत्ति विवरण प्राप्त भएको उल्लेख छ । तर, सम्पत्ति कति छ भन्ने सार्वजनिक भएको छैन ।

नौजना मन्त्रीले त अहिलेसम्म सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएकै छैनन् । त्यसरी नबुझाउनेमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, खानेपानीमन्त्री महिन्द्रराय यादव, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्य रहेका छन् । त्यस्तै, वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो, भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाई, शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पनि आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन् ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यसरी प्राप्त सम्पत्ति विवरण हेर्न पाउनेगरी सार्वजनिक गर्नुपर्नेमा सो विवरण गोप्य राखिएको छ । यदि, सम्पत्ति विवरण सार्वजनिक गरिदिने हो भने यसअघि प्रधानमन्त्री हुँदा भएको सम्पत्ति र अहिलेको सम्पत्ति कति बढ्यो वा घट्यो भने आमनागरिकले जाँच्न पाउँथे । तर, प्रधानमन्त्री तथा मन्त्रीहरूले आफ्नो सम्पत्ति गोप्य राख्दा नागरिकमा आशंका बढेको छ ।

दाहाल दोस्रोपटक प्रधानमन्त्री हुँदा ५ भदौ २०७३ मा सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । त्यतिखेरको उनको सम्पत्ति विवरण केवल एक कट्ठा जग्गा मात्र थियो । दाहालले सम्पत्ति विवरणमा देखाएको सो सम्पत्ति पैत्रिक भएको पनि उनले विवरण उल्लेख गरेका थिए । उनले सो सम्पत्ति श्रीमती सीता दाहालको नाममा राखेका थिए । साथै, उनले त्यतिखेर तीन तोला सुन रहेको र आफ्नो कतै सेयर एवं जग्गा जमिन नभएको उल्लेख गरेका थिए । राजधानी दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको