भारतले नेपाललाई किन दिदैछ मुर्रा राँगा

काठमाडौं,नेपाल र छिमेकी मुलुक भारतसँग नेपाललाई १५ वटा मुर्रा राँगा उपलब्ध गराउने सम्झौता भएपछि अहिले नेपालमा त्यसको चर्चा सुरुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो भारत भ्रमणसँगै नेपालस्थित भारतीय दूतावासले मुर्रा राँगा उपलब्ध गराउने सम्बन्धमा प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता एवम् योजना तथा विकास सहायता समन्वय महाशाखाका सहसचिव प्रकाशकुमार सन्जेलले यस सम्बन्धमा परराष्ट्र मन्त्रालयमा सचिवस्तरमा थप कुराकानी भइरहेको बताउनुभयो ।

मुर्रा भनेको एक प्रकारको राँगा हो । त्यो जेनेटिक अर्थात् नस्ल सुधारको लागि हो । कुनै खपत वा दूध उत्पादनका लागि होइन ।
प्रवक्ता सन्जेलले भन्नुभयो, “यस सम्बन्धमा परराष्ट्रसँग कुरा गर्दैछौं । प्राविधिक कुरा के हो भने त्यो भैँसी होइन, मुर्रा भनेको एक प्रकारको राँगा हो । त्यो जेनेटिक अर्थात् नस्ल सुधारको लागि हो । कुनै खपत वा दूध उत्पादनका लागि होइन । यसकारण १५ वटा भनेको उल्लेख्य हो ।”

भैँसीको मुर्रा जातको बलियो मांसपेशी शरीर संरचना रहेका भारी काम र कृषि कार्यका लागि महत्त्वपूर्ण छ । उहाँले भन्नुभयो, “भारतीय राजदूतावासले त्यो विज्ञप्ति निकाल्यो । परराष्ट्रसँग कुरा गरिरहेका छौँ त्यसपछि औपचारिक प्रेस विज्ञप्ति निकाल्छौँ । बाहिर भनिएजस्तो जाबो १५ वटा मात्रै भन्ने होइन, यसको ठुलो महत्त्व छ । हाम्रो तर्फबाट केही स्पष्टीकरण आवश्यक भए त्यो पनि निकाल्छौँ ।”

कृषि मन्त्रालयले दुई वर्ष अघिदेखि नै यस प्रजातिको राँगा ३० वटा प्रस्ताव गरेको थियो । “यसलाई जेनेटिक मेटरियल भनिन्छ । आनुवंशिक स्रोत हो यो । त्यसैले सितिमिति कसैले पनि उपलब्ध गराउँदैन । किनेर पाइँदैन” उहाँले भन्नुभयो, “अब प्राविधिक टोली त्यहाँको १५ वटाको गुणस्तर हेर्न जान्छ । प्राविधिक सहायताको रूपमा स्वीकार गर्ने भनेर अर्थ मन्त्रालयसँग सहमति लिएका छौँ ।” पशु सेवा विभागको प्राविधिक टोलीबाट गुणस्तर एवम् विश्लेषणपछि सम्झौताअनुसार मुर्रा राँगा नेपाल ल्याउने प्रक्रिया अघि बढ्ने उहाँको भनाइ छ । “दुई वर्ष अघिदेखिको प्रस्ताव हो किनभने आवश्यक परे किन्छौँ पनि भनेका हौँ । सशुल्क उपलब्ध गराए पनि हुन्छ भनेको हो” उहाँले भन्नुभयो ।

पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले भारतबाट ल्याउने भनिएका १५ वटा मुर्रा जातका राँगामा उच्च प्रजननमान रहेको बताउनुभयो । डा. ढकालले भन्नुभयो, “भारतबाट ल्याउने भनिएका १५ वटा भैसीभन्दा पनि राँगा उच्च प्रजननमान भएका वंशावली परीक्षण गरिएका राँगाहरू हुन् । नस्ल सुधारको प्रयोजनका लागि ल्याउन खोजिएको हो ।”