December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

कालीमाटी तरकारी बजारमा मापदण्ड पालना नगर्दा जोखिम बढ्दो

फाइल फोटो

काठमाडौँ, कालीमाटी तरकारी बजारमा व्यापारी र उपभोक्ता दुवैले कोरोना सङ्क्रमण रोकथामका लागि सामान्य मापदण्ड पनि पालना नगर्दा थप जोखिम बढेको छ ।

बिक्रेता र क्रेताले सामान्यतया दूरी कायम र मास्कसम्म पनि नलगाएको पाएपछि कोरोना भाइरसको जोखिम थप बढेको हो । यसअघि नै कालीमाटीका तरकारी व्यापारीमा कोरोना भाइरस देखिसकेको अवस्था भए पनि सावधानी भने छैन ।

काठमाडौँ महानगरको कृषि विभागको अगुवाइमा आज बिहान अनुगमन टोली त्यहाँ पुग्दा अवस्था सामान्य बेला जस्तै थियो । हरेक दिन काठमाडौँ उपत्यका र अझै बढी काठमाडौँ जिल्लामा भाइरसका बिरामी बढ्दोरुपमा थपिने क्रम जारी छ । दैनिक औसतमा ५०० मेट्रिकटन तरकारी तथा फलफूल बिक्री हुने यस बजारमा ४५२ वटा थोक, ६५ वटा खुद्रा र २७ वटा माछा पसल छन् । आफ्नो नजिकको बजारभन्दा तरकारी र फलफूल सस्तो पाइने भनेर उपभोक्ता कालीमाटी जान थालेपछि कालीमाटी तरकारी तथा फलफूल बजार भीड बढेको अनुगमन टोलीको निष्कर्ष छ ।

कोभिड महामारी नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि आयात घटेर मूल्य बढेको भन्दै महानगरमा गुनासो आएपछि कामपाले अनुगमन शुरु गरेको हो । अनुगमनका क्रममा थोक बजारभित्रका स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए नभएको अवलोकन गरिएको थियो । त्यस्तै ढक तराजुको अवस्था, खरिद बिक्री बिल, मूल्यसूची, परिचय पत्रलगायत सूचकका आधारमा अनुगमन गरिएको थियो । कामपा कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले महामारीका समयमा पनि व्यापारी र उपभोक्तामा कत्ति सावधानी नदेखिएको भन्दै सचेत हुन आग्रह गरेका छन ।

शीर्ष समाचार

धेरै पढिएको