दुई,चार सय भ्रष्टाचारीलाई जेल नहालेसम्म देश बन्दैन् – अध्यक्ष ऋषि धमला

रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले दुई/चार सय भ्रष्टाचारीलाई जेल नहालेसम्म देश नबन्ने बताएका छन् । आज (शुक्रबार) अल्फा कोरियन भाषा स्कुल, सूर्यविनायकले २०२३ को ईपिएस कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुको लागि आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै धमलाले यस्तो बताएका हुन् ।

उनले पाँच वर्षपछि नेपालमै युवा दक्ष जनशक्तिलाई यहीँ रोजगारी सिर्जना गर्नेगरि अब काम गर्नुपर्नेमा जोड दिए । उनले नेपाल बनाउन राजनीतिक ईच्छाशक्ति चाहिएको उल्लेख गर्दै सरकारमा बस्नेहरु देश र जनताप्रति इमानदार हुनुपर्नेमा जोड दिए । उनले देशमा व्यवस्थामात्रै परिवर्तन भएको र जनताको अवस्था परिवर्तन नभएको गुनासो पोखे । उनले देश बनाउने जिम्मा अब युवाहरुको काँधमा आएको सुनाए ।

धमलाले आफूले भ्रष्टाचारलाई निर्मूल तुल्याउनको लागि एउटा संकल्प लिएको पनि स्मरण गराए । उनले भने,‘यो देशका भ्रष्टाचारीहरुलाई जेलमा कोच्न नसकेसम्म यो देशको विकास हुँदैन् । आज देश कसले कंगाल बनायो ? देश नबन्नुको प्रमुख कारण भनेको भ्रष्टाचार हो । देशका दुई÷चार सय भ्रष्टाचारीलाई जेलमा हालियो भने देश आँफै विकास हुन्छ । अब चाहिएको भनेको सुशासन हो । डेलिभरी हो । भ्रष्टाचार जरैदेखि उखलेर फाल्नुपर्छ ।’
धमलाले देशमा अहिलेस्म्म भाषण धेरै भएको र विकास नभएको आरोप लगाए । आफूले अब शिक्षा र स्वास्थ्यबारे निरन्तर बहस चलाउनेपनि धमलाको प्रण छ । उनले आफू छिट्टै दक्षिण कोरियामा पनि जनता जान्न चाहन्छन् कार्यक्रम लिएर जाने सुनाए ।

उनले नेपाली युवाहरुले अरु देश बनाउन योगदान गरेको सुनाए । उनले नेपाल देश बनाउने सक्षम जनशक्ति विदेशिन बाध्य भएको पनि उल्लेख गरे । यो देशको लागि पीडाको विषय भएको सुनाए । विश्व बजारमा नेपाली श्रमिकहरुको माग उच्च रहनुको कारण नेपालीहरु धैर्यवान र इमानदार रहनु नै रहेको सुनाए ।