November 29, 2023, Wednesday
२०८० मंसिर १३, बुधबार

दुर्गम ठाउँमा पनि तत्काल स्वास्थ्यकर्मी पुर्‍याउँछु : स्वास्थ्यमन्त्री मोहन बस्नेत

काठमाण्डाै – नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले दुर्गमभन्दा दुर्गम ठाउँमा पनि तत्काल स्वास्थ्यकर्मी पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पालिका, प्रदेश र सङ्घीय सरकारको समन्वयमा याे काम गर्ने उहाँकाे योजना छ ।

बिहीवार पदभार ग्रहण गरेपछि मन्त्रालयका आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले आफू कम सुतेर भए पनि मन्त्रालयको काममा खट्ने बताउनुभयो । स्वास्थ्य सेवाको प्रक्रियालाई सरलीकृत गर्दै लैजाने उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्य सेवाको प्रक्रियालाई सरलीकृत गर्दै दुर्गमभन्दा दुर्गम ठाउँमा पनि स्वास्थ्यकर्मी पुर्‍याउँछाैँ । यसमा तीनै तहका सरकारसँग समन्वय गर्छाैँ । म चाहिँ कम सुते हुने मान्छे, बढी खट्न सक्ने मान्छे ।’

मन्त्री बस्नेतले एक हप्ताभित्र स्वास्थ्य सामग्रीकाे तथ्याङ्क दुरुस्त राख्न पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । स्वास्थ्य सामग्री धेरै खरिद भएको तर त्यो प्रयोगमा नआएकाले त्यसको हिसाब दुरुस्त राखी आवश्यक ठाउँमा पठाउनुपर्ने उहाँको भनाइ थियो ।

मन्त्री बस्नेतले सरकारले खरिद गरेको स्वास्थ्य सामग्री ठूलो मात्रामा भए पनि त्यसको सदुपयोग हुन नसकेको भन्दै आपत्ति जनाउनुभयो ।मन्त्री बस्नेतले नागरिकको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर काममा खटिन स्वास्थ्यकर्मीलाई सचेत गराउनुभयो ।

शीर्ष समाचार

धेरै पढिएको