कतार र मलेसियाका नेपाली दूतावासले पुनः श्रम स्वीकृति सेवा दिन थाले
कतार र मलेसियाका नेपाली दूतावासले ती देशमा काम गरिरहेका नेपाली श्रमिकलाइ पुनः श्रम स्वीकृति सेवा प्रदान गर्न थालेका छन् ।
कतारमा रहेको नेपाली दूतावासले यही वैशाख १२ गतेदेखि पुनः श्रम स्वीकृति सेवा सुरु गरेको हो भने मलेसियामा रहेको नेपाली दूतावासले १५ गतेदेखि पुनः श्रम स्वीकृति प्रदान गर्न थालेको हाे । दूतावासहरूले पनि श्रम स्वीकृति सेवा अनलाइनबाटै दिने छन् ।
हुन त पछिल्लो समय सबै खाले श्रम स्वीकृति अनलाइनबाटै लिन सकिन्छ । अनलाइनबाटै सबै प्रक्रिया हुने भए पनि श्रम स्वीकृति प्रदान गर्ने निकायमा भने दूतावास छान्न सकिन्छ । दूतावासबाट श्रम स्वीकृति लिनका लागि आवेदन दिन सबैभन्दा पहिला वैदेशिक रोजगार विभागकै वेबसाइटबाट दिन पर्छ ।
अनलाइनबाट आवेदन दिनका लागि feims.dofe.gov.np मा गई वैदेशिक रोजगारीमा गएका वा जान चाहने व्यक्तिका लागि मात्र लेखिएको ठाउँमा क्लिक गर्न पर्छ । त्यसपछि लगअनमा क्लिक गर्नुपर्छ ।
फेमिस सिस्टममा पहिले नै आबद्ध भएर पासवर्ड बिर्सिएको भएमा नयाँ पासवर्डका लागि दूतावासमा सम्पर्क गर्नुपर्छ । अनलाइनबाट सबै प्रक्रिया अघि बढाएर अन्तिममा गएपछि श्रम स्वीकृति दिने ठाउँमा भने मलेसियाबाट हो भने मलेसियामा रहेको नेपाली दूतावास र कतारबाट हो भने दोहा कतार भनेर छनौट गर्न पर्छ ।
श्रम स्वीकृति लिनका लागि कल्याणकारी कोषमा, जीवन बिमा र सामाजिक सुरक्षा कोषमा रकम बुझाउन पर्ने हुन्छ । कनेक्ट आइपिएस, ई सेवा र खल्ती लगायत एपबाट यस्तो रकम तिर्न सकिन्छ ।
श्रम स्वीकृतिको आवेदन दिँदा नै सामाजिक सुरक्षा नम्बर पनि पाइने व्यवस्था छ । श्रम स्वीकृतिको आवेदन दिँदा सामाजिक सुरक्षा नम्बर उपलब्ध भएन भने सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत कोषमा आबद्ध हुन सकिन्छ ।
प्रतिकृया दिनुहोस्