मिटरब्याज पीडितसँग अझै जुटेन सहमति
काठमाडौं, गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबीचको पाँचौँ पटकको वार्ता निष्कर्षविहीन टुङ्गिएको छ। बिहीबार गृह मन्त्रालयमा बसेको वार्तामा समितिको छबुँदे मागमा पूर्ण सहमति हुन जुट्न नसक्दा वार्ता निष्कर्षहीन भएको हो।
वार्ता टोलीका संयोजक एवं गृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालाले भने, “कानुन संशोधन गर्नेलगायतका नीतिगत निर्णय सरकारले गर्दा अदालतबाट फैसला भएर कार्यान्वयनमा गएको विषयलाई तत्काल सरकारले केही गर्न सक्ने कुरा भएन, यही विषयमा असहमति भइरहेको छ।”
मिटरब्याज लगाउनेहरूले अधिकांश पीडितको जग्गा अदालतको फैसलाबाट आफ्नो बनाइसकेका छन्। नीतिगत विषयमा मन्त्रीपरिषद्बाट निर्णय गरिए पनि अदालतले फैसला गरेका विषयमा कसरी सम्बोधन गर्न मिल्छ भन्ने कुराको निकास दुवै पक्षसँग नभएको उनको भनाइ छ।
मिटरब्याजपीडितले भने सरकार गम्भीर नभएको आरोप लगाउनुभएको छ। समितिका सदस्य सरस्वती वाग्लेले भने, “हाम्रा छबुँदे मागमा सरकारको स्पष्ट धारणा बन्न सकेन, कानुन संशोधनका कुरामा पनि स्पष्टता देखिएको छैन।” आजको गोरखापत्रबाट
प्रतिकृया दिनुहोस्