थापाथलीको बागमती किनारको सुकुमबासी बस्ती जसरी पनि हटाउने मनस्थितिमा महागनपालिका पुगेको छ । यसका लागि महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले गृह मन्त्रालयलाई सहयोग र समन्वय गरिदिन बुधबार आग्रहसहितको पत्र पठाएका छन् ।

महानगरले पठाएको पत्रअनुसार सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रूपमा अगाडि बढ्नेछ ।
‘अतिक्रमित क्षेत्रमध्ये थापाथालीस्थित बागमती नदी–किनारका अव्यवस्थित अनधिकृत संरचना हटाई सो क्षेत्रको संरक्षण र सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडि बढाउन बागमती परियोजनाबाट समेत अनुरोध आएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास भए पनि सफल हुन सकेको छैन ।
यसर्थ, विशेष गरी थापाथलीस्थित उल्लिखित क्षेत्रमा रहेका अनधिकृत संरचना हटाई त्यहाँ सौन्दर्यकरण तत्काल सुरु गर्ने कार्यक्रम रहेकाले सो संरचना हटाउन आवश्यक सहयोग र समन्वयका लागि अनुरोध छ,’ महानगरले पठाएको पत्रमा भनिएको छ ।







