
प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनमा यसपटकको राजनीतिकर्मी मात्रै होइन्, कलाकारहरूको समेत उल्लेख्य सहभागिता रह्यो । चर्चित अभिनेत्री रेखा थापादेखि गायिका कोमल वली, निर्माता रोज राणासम्म चुनावी मैदानमा होमिए ।
प्यूठानबाट प्रदेश सभामा उम्मेद्वार बनेका रोज राणा निर्वाचित भइसकेका छन् भने दाङबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बनेकी कोमल वली पराजित भइसकेकी छन् ।
अभिनेत्री रेखा थापाको हार निश्चित देखिएको छ । प्रतिनिधि सभामा मोरङ क्षेत्र नं. ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेद्वार रहेकी रेखाले १० हजार मत कटाएकी छन् । पछिल्लो मतपरिणामअनुसार १० हजार ७ सय १० मत ल्याएर उनी तेस्रो स्थानमा छिन् ।
नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्माले भारी मतले अग्रता लिइरहेका छन् । उनले ४६ हजार ९३६ मत ल्याउँदा नेकपा एमालेका भानुभक्त ढकाल २५ हजार ७४ मतका साथ दोस्रो स्थानमा छन् । गणना हुन बाँकी मत र भारी मतान्तरलाई आधार हेर्दा रेखा थापाको हार निश्चित देखिएको हो । निर्वाचन अघिसम्म रेखालाई बलियो प्रतिष्पर्धीका रूपमा हेरिएको थियो ।
घरदैलो र मतदाता भेटघाटका क्रममा रेखाको ‘क्रेज’ निकै राम्रो देखिएको थियो । यद्यपि, त्यो अनुसार उनको पक्षमा राम्रो मत भने आउन सकेन । यसर्थ, चलचित्र क्षेत्रमा सधै चर्चा र सफलता पाएकी रेखाको सांसद बन्ने पहिलो प्रयासमा भने ‘ब्रेक’ लागेको छ ।







