December 3, 2020, Thursday
२०७७ मंसिर १९, शुक्रबार

अन्तर्राष्ट्रिय उडानमा भदौ १६ देखिको तालिका निस्कियो

काठमाडौँ, कोभिड–१९ को माहामारी फैलिन नदिन अन्तर्राष्ट्रिय उडानको रोक भदौ १६ देखि खुला गर्ने सरकारको बिहीबारको निर्णयसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार एक महिना ९सेप्टेम्बर ०को उडान तालिका जारी गरेको छ ।

मन्त्रालयका अनुसार, सेप्टेम्बर १ (भदौ १६) देखि सेप्टेम्बर ३० (असोज १४) सम्मको एक महिनामा ६० वटा नियमित उडान हुने भएका छन् भने २७ वटा चार्टर उडान हुने छन् ।

मन्त्रालयले नियमित उडानतर्फ मलेसियाको मालिन्दो एयर तथा मलेसियन एयरलायन्स, टर्किको टर्किस एयरलायन्स, हङकङको क्याथे ड्रयागन, कोरियाको कोरियन एयर, चीनको चाइना साउर्दन, एयर चाइना, साउदी अरबको एयर अरेबिया, कतारको कतार एयरवेज र दुबईको फ्लाई दुबई गरि १० वटा वायुसेवालाई उनीहरुका गन्तव्यबाट नियमित उडान भर्न अनुमति दिएको छ ।

त्यस्तै, स्वदेशी वायुसेवातर्फ नेपाल वायुसेवा निगमलाई जापानको नारिता, दुबई, मलेसिया र हङकङ उडानको अनुमति दिएको छ । अर्को हिमालय एयरलायन्सलाई चीनको छोङकुइन, मलेसिया र आबुदाबीमा उडानको अनुमति दिइएको छ ।


यो एक महिनाको अवधिमा १० वटा विदेशी र दुईटा नेपाली गरी १२ वटा वायुसेवाले ६० वटा उडान गर्ने छन् । सरकारले दैनिक ५ सयसम्म मात्रै यात्रु ल्याउन दिने कोटा तोकेकाले यो तालिका हेरफेर हुन सक्ने मन्त्रालयका एक अधिकारीले बताए ।

मन्त्रालयले मंगलबारै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने नागरिक उड्डयन प्राधिकरणलाई कोभिड–१९ को माहामारी कायमै भएकाबेला सरकारले तोकेका नियम तथा शर्तहरु पालना गराउँदै उडान गराउन निर्देशन दिएको छ ।

त्यसैगरी मन्त्रालयले कोभिड–१९ को जाँच सहज नभएका मुलुकबाट नियमित उडान खुला गरेको छैन । तर, ती मुलुकमा अलपत्र परेका नेपाली ल्याउन एक महिनामा २७ वटा चार्टर उडान गर्न अनुमति दिएको छ । चार्टर उडान हुने गन्तव्यमा माल्दिभ्स, दोहा, कुवेत, जेद्दा, दमाम र रियाद छन् । यी गन्तव्यबाट नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्स, कतार एयरवेज, जजिरा एयर, र सलाम एयरले चार्टर उडान गर्ने छन् ।

त्यसैगरी मन्त्रालयले नियमित तथा चार्टर उडानबाट नेपालमा भएका सबै दूतावासका कर्मचारी, संयुक्त राष्ट्र संघका १८ वटा एजेन्सी र नेपालमा काम गरिरहेका १५ वटा विकास साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिलाई पनि आउन नदिन भनेको छ । ई-कान्तिपुरबाट

शीर्ष समाचार

धेरै पढिएको