आसन्न चुनावमा पूर्वी नवलपरासी क्षेत्र नम्बर २ मा पुरानै प्रतिस्पर्धी बीचमा प्रतिस्पर्धा हुने भएको छ ।सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विष्णुकुमार कार्की तथा नेकपा एमालेका तिलबहादुर महत क्षेत्रीबीच प्रतिस्पर्धा हुँदैछ ।
कांग्रेसका उम्मेदवार कार्की ३१ वर्ष लामो एमालेको विरासत भत्काएर नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छन् भने एमालेका महत आफ्नो पुरानो विरासत जोगाउँदै दोस्रोपटक जितेर संसद् प्रवेश गर्ने दाउमा छन् । विक्रम संवत् २०४८ सालदेखि सो क्षेत्रमा एमालेले निरन्तर सो क्षेत्रमा जित्दै आएको छ ।

विक्रम संवत् २०७४ सालको चुनावमा एमालेका महतले कांग्रेसका कार्कीलाई १ हजार ३०३ मतान्तरले पराजित गरेका थिए । तत्कालीन समयमा महतले ३९ हजार ५३ मत प्राप्त गर्दा कार्कीले ३७ हजार ७२० मत प्राप्त गरेका थिए । अहिले सन्दर्भ बदलिएको छ ।
त्यसबेला महतलाई भोट हालेको नेकपा माओवादी केन्द्रले यसपटक गठबन्धनका कार्कीलाई भोट हाल्नेछ भने एमाले फुटेर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादी पनि कांग्रेसकै साथमा छ ।
५ वटा स्थानीय तह र ४० वडा रहेको निर्वाचन क्षेत्रमा गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा एमालेले २२, कांग्रेसले १६ र माओवादी केन्द्र र राप्रपाले १/१ वडा जितेका थिए भने स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतको हिसाब हेर्दा एमालेले ४२ हजार ५००, कांग्रेसले ३८ हजार ५८७, माओवादीले १ हजार ७४२, राप्रपाले २ हजार ३६५ मत प्राप्त गरेका छन् ।
सत्ता गठबन्धन, एमाले र राप्रपासहित अन्य स्वतन्त्र उम्मेदवार एक्लाएक्लै मैदानमा रहेकाले यो निर्वाचन क्षेत्रमा स्थानीय निर्वाचनपछि थपिएका नयाँ मतदाताको रुझान पनि आफ्नो पक्षमा रहेको जनाउँदै पहिलोपटक जीत निकाल्ने कांग्रेसका कार्कीको दाबी रहेको छ भने विरासत जोगाएर दोस्रोपटक संसद्मा प्रवेश गर्ने दाउमा एमालेका महत रहेका छन् ।कूल १ लाख २९ हजार २८० मतदाता रहेको यो क्षेत्रमा सत्ता गठबन्धनका कार्की र एमाले उम्मेदवार महतबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।







