June 15, 2024, Saturday
२०८१ असार २, शनिबार

काम छिटो गरिदिने भन्दै ईपीएस कोरिया शाखा परिसरमा ठगी गर्ने क्रम बढ्दाे

ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया जाने तयारीमा हुनुहुन्छ र भाषा परीक्षा पास गरी थप प्रक्रियाका लागि ईपीएस शाखामा आउँदै हुनुहुन्छ भने सचेत हुनुहोस् ।

शाखा कार्यालय परिसर भित्र तथा बाहिर शाखाबाट प्राप्त हुने सेवाका लागि आउने तपाईँलाई छिटो काम मिलाइदिन्छ भनी आफैं वा कर्मचारीहरूको नाममा रकम माग्ने र ठगी गर्ने क्रम बढेको छ । पछिल्लो समय ईपीएस कोरिया शाखाको कार्यालय परिसरमा काम छिटो गरिदिने र कर्मचारी चिनेको छु भन्दै रकम लिएर ठगी गर्ने गरेको भन्ने गुनासो बढेको छ ।

त्यसैले शाखा परिसरमा कसैले यस्ता प्रलोभन देखाएमा ठगीमा पर्नबाट बच्न र त्यस्तो सूचना शाखामा वा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा दिन शाखाले अनुरोध गरेको छ ।

शाखा परिसरमै हुन सक्ने यस्तो ठगी रोक्न अनुगमन र कारबाहीको काम भइरहेको पनि ईपीएस शाखाले जनाएको छ । पछिल्लो समय वैदेशिक रोजगारीको प्रक्रियाको काम धेरैजसो काम अनलाइनबाटै हुने गरेको छ ।

अनलाइनबाट हुने कामको नमुना शाखाको वेबसाइटमा राखिएको र अनलाइनबाट हुने काम पनि सम्बन्धित व्यक्तिलाई आफैंले गर्दा राम्रो हुन्छ ।

कोरोनाको कारण केही समय रोकिएको कोरिया रोजगारी २०७८ कात्तिकदेखि सुरु भएको थियो । त्यसयता गएको भदौको १५ गतेसम्ममा ८ हजार ८ सय ७० जना नेपाली रोजगारीका लागि कोरिया गइसकेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको