
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली भाषा, साहित्य श्रीवृद्धिमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले खेलेको सिर्जनात्मक भूमिकाको छुट्टै महत्व रहेको बताउनुभएको छ ।
ललितपुरमा शुक्रबार आयोजित स्वर्गीय जोशीको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्नुहुँदै उहाँले जोशी निरङ्कुश पञ्चायतकालीन शासनदेखि २०६२/६३ सालसम्म भएको परिवर्तनको इतिहासको साक्षी रहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, “जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले पुरातत्व संस्कृति विभागको निर्देशक बनाउनुभएको थियो । बीपी कोइरालाले त्यतिबेला नै उहाँको क्षमताको पहिचान गर्नुभएको थियो ।

नेपाली भाषा, साहित्य श्रीवृद्विका लागि जोशीले खेलेको सिर्जनात्मक भूमिका छुट्टै छ ।” जोशीले मुलुकलाई दिएको अमूल्य योगदानको सम्मानमा सरकारले शताब्दी पुरुषको उपाधि दिएको उहाँले चर्चा गर्नुभयो ।
प्रधानमन्त्री देउवाले देशलाई चिनाउने सबैभन्दा महत्वपूर्ण आधार संस्कृति रहेको र जोशीको निधनले राष्ट्रलाई ठूलो क्षति पुगेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “राष्ट्रलाई ठूलो क्षति भएको छ । उहाँको योगदान राष्ट्रको सम्पत्ति हो, यसको संरक्षण गर्नुपर्दछ । यसमा सरकारले सहयोग पुर्याउने प्रतिबद्वता व्यक्त गर्दछु । उहाँको चिरशान्तिको कामना, परिवारजनमा समवेदना प्रकट गर्दछु ।”







