
अछाम – अछामको साँफेबगर नगरपालिका एक हप्ताको लागि सिल हुने भएको छ। साँफेबगर नगरपालिकाले मंगलबार साँझ ७ बजेबाट नगरपालिकाका १४ वटै वडा पूर्णरुपमा सिल गर्ने भएको हो ।
समुदायस्तरमा कोरोना संक्रमण फैलिएर जोखिम बढ्दै गएपछि प्रकोप व्यवस्थापन केन्द्रको वैठकले एक हप्ताको लागि नगरपालिकालाई पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको हो । स्वास्थ्य संस्था, बिधुत कार्यालय, नेपाल टेलिकम, पेट्रोल पम्प बाहेक सम्पूर्ण व्यवसाय पूर्णरुपमा बन्द रहने नगरपालिकाले जनाएको छ ।
बैंक तथा वित्तिय संस्था, किराना पसल, तरकारी, पानी, ग्यास लगायत सम्पूर्ण व्यवसाय भाद्र १६ गते सम्मको लागि बन्द हुने नगर प्रमुख कुलबहादुर कुँवरले बताए । अत्यावश्यक कामबाहेक सामान्य हिडडुलमा समेत कडाइ गरिएको छ ।साँफेबगर नगरपालिकामा अहिलेसम्म १ हजार ५ सय ८० जनाको पीसीआरबाट स्वाब परीक्षण गर्दा २ सय ५ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । अझै १ सय २७ जनाको रिर्पोट आउन वाँकी रहेको स्वास्थ्य शाखाका निमित्त प्रमुख लक्ष्मणनाथ योगीले जानकारी दिए ।
भारतबाट आएका व्यक्ति भन्दा पनि समुदायस्तरमा कोरोना संक्रमण फैलिएको उनको भनाइ छ । समुदायका ४९ जनामा कोरोना पोजेटिभ देखिएको छ । साँफेबगर नगरपालिकाका जनप्रतिनिधि, प्रहरी, स्वास्थ्यकर्मीमा समेत कोरोनाको संक्रमण देखिएको छ ।







