
बैतडी, बैतडीमा २८ जनामा स्क्रबटाइफस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म २८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो समय जिल्लामा स्क्रबटाइफसका बिरामीको सङ्ख्या बढ्दै गएको छ । बिरामी भएर अस्पताल र स्वास्थ्य संस्थामा आएका व्यक्तिको परीक्षण गर्दा स्क्रबटाइफस देखा परेको हो ।
जिल्ला अस्पतालमा हाल दैनिकरूपमा ‘स्क्रबटाइफस’का बिरामी फेला पर्न थालेका जिल्ला अस्पतालका प्रमुख डा दिपेश श्रेष्ठले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । स्क्रबटाइफसमा पनि टाइफाइड ज्वरो जस्तै लक्षण देखिने भएकाले समयमा नै अस्पतालमा जाँच गर्नुपर्ने र स्वास्थ्य संस्थामा जाँच गरेपछि मात्रै स्क्रबटाइफस भए नभएका बारेमा जानकारी हुने उनको भनाइ छ ।
यसैगरी परीक्षण नगराएका व्यक्तिमा समेत स्क्रबटाइफसको सङ्क्रमण हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।
अस्पतालले ज्वरोका प्रत्येक बिरामीमा स्क्रबटाइफसको परीक्षण गरिरहेको छ । उनले भने, ‘केही स्क्रबटाइफसका बिरामीलाई अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था रहेको छ, दैनिकरूपमा नै देखिनुले यसको जोखिम निकै बढी देखिएको छ, यसबाट बच्न जरुरी छ ।’







