
म्याग्दि, बेनी नगरपालिकामा ११० वटा घरमा खरको हटाएर जस्ताको छाना राखिएको छ । बेनी नगरपालिकाको सहयोगमा घरधनीले खरको हटाएर जस्तापाटा राखेका हुन् । सबैभन्दा बढी वडा नं ३ मा पर्ने भकिम्लीमा ६१ घरमा जस्ताको छाना राखिएको बेनी नगरपालिकाका प्राविधिक अर्जुन थापाले जानकारी दिएका छन ।
सदरमुकाम बेनी बजार अवस्थित ७ र ८ नं बाहेक रत्नेचौर, भकिम्ली, ज्यामरुककोट, सिंगा, पुलाचौर, अर्थुङ्गे, घतान र पात्लेखेतमा खरको छाना विस्थापित गर्ने कार्यक्रम सञ्चालन भएको थियो ।
छाना फेर्नका लागि जस्तापाटा खरिद गर्न प्राविधिकले तयार पारेको लगतअनुसार एक जनाले पैतिस हजार रुपैयाँसम्म अनुदान पाएका छन् । वडा कार्यालयले सङ्कलन गरेको आवेदनको आधारमा छनोट गरिएका घरधनीलाई छानो फेरेपछि अनुदान दिइएको थियो । खरको छाना विस्थापित गर्ने कार्यक्रमका लागि रु. ७० लाख विनियोजन भएकोमा रु.४१ लाख भुक्तानी भएको प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुवेदीले जानकारी दिनुभयो । गत वर्ष छुटेकालाई यस वर्षको कार्यक्रमबाट समेटिने नगरपालिकाले जनाएको छ ।







