
हाल अमेरिकाको भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पेन्टागनमा महत्त्वपूर्ण भेटवार्ताहरू गरेका छन्।
अमेरिकासँगको एउटा प्रमुख सुरक्षा साझेदारी स्टेट पार्टनरसिप प्रोग्रामबाट पछि हट्ने निर्णय नेपाल सरकारले लिएको केही दिनपछि उनले अमेरिकाको भ्रमण थालेका थिए।
उक्त सम्झौतालाई लिएर नेपालमा चौतर्फी विरोध भएको थियो र सम्झौताबाट अलग हुने नेपालको निर्णयको चीनले स्वागत गरेको थियो।
भ्रमणका क्रममा भएका छलफलहरूबारे नखुलाइए पनि नेपाल र अमेरिकाबीचको सैन्य सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल गरेको अधिकारीहरूले जनाएका छन्।
के गर्दैछन् प्रधानसेनापति
प्रधानसेनापति बिहीवार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा उच्च रक्षा र सैनिक अधिकारीहरूसँग भेट गरेको नेपाली सेनाले जनाएको छ।
सेनाका अनुसार प्रधानसेनापति शर्माले अमेरिकी जोइन्ट चिफ अफ स्टाफका भाइस चेअरमेन एडमिरल क्रिस्टोफर डब्ल्यु ग्राडी, दक्षिण एशिया तथा दक्षिण पूर्वी एशिया हेर्ने अमेरिकी रक्षा उपमन्त्री लिन्ड्जे डब्ल्यू फोर्ड र अमेरिकी सेनाका चिफ अफ द स्टाफ जेम्स चार्ल्स मकोनभिलसँग भेटवार्ता गरेका छन्।
नेपाली सेनाले भनेको छ, “उक्त भेटघाटका क्रममा, नेपाल र मित्रराष्ट्र संयुक्त राज्य अमेरिका बीचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रही आएको पारस्परिक सम्बन्ध एवं हितका विषयहरूमा छलफल तथा विचार विमर्श भएको थियो।”
यसअघि उनले मङ्गलवार पेन्सिलभिनियामा रहेको अमेरिकी सेनाको वार कलेजको भ्रमण गरेका थिए।
उनले बुधवार न्याश्नल डिफेन्स युनिभर्सिटीको भ्रमण गरेका थिए भने विभिन्न सैनिक निकायका प्रमुखहरूसँग भेटवार्ता गरेका थिए।
अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले प्रधानसेनापतिको सम्मानमा आयोजना गरेको कार्यक्रममा अमेरिकी सरकार र विभिन्न राजदूतावासका प्रतिनिधि सहभागी भएको वाशिङ्टन डिसीस्थित नेपाली राजदूतावासले यसै हप्ता जनाएको थियो।
वाशिङ्टन डिसीबाट बिहीवार नै न्यूयोर्क पुगेका शर्माले त्यहाँ राष्ट्रसङ्घको शान्ति सेना हेर्ने निकाय सहितका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।हालसम्म अमेरिकाले नेपाली प्रधानसेनापतिको भ्रमणबारे कुनै विवरण बाहिर ल्याएको छैन। bbc







