
राष्ट्रपति विद्यादेवी भण्डारीले सुन्धारामा पुगेर जगन्नाथ रथयात्राको अवलोकन गर्नुभएको छ ।अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (स्कोन) को आयोजनामा आज काठमाडौंमा जगन्नाथ रथयात्रा गरिएको छ । उक्त रथयात्राको उद्घाटन भने राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नु भएकाे हाे । सुन्धारामा आयोजित एक समारोहका बीच भण्डारीले रथयात्राको शुभारम्भ गर्नुभएकाे हाे।
नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (स्कोन नेपाल)ले आयोजना गरेको सो रथयात्रामा सरिक हुँदै राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गर्नुभयो । स्कोनको तर्फबाट नेपालका लागि प्रतिनिधि पत्रिदासले विश्वमा शान्ति कायम गर्न यात्राको आयोजना गरिएको बताउनुभयो ।

पछिल्लो समय विश्वमा अशान्ति फैलिरहेको भन्दै पत्रिदासले शान्ति कामय गर्न र सबै नेपालीलाई एकीकृत गर्नु रथयात्राको मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो । सामान्य कार्यक्रम गरेर विगतका वर्षहरूमा पनि गर्ने गरिए पनि राष्ट्रप्रमुखको सहभागितामा भने पहिलोपटक रथयात्रा गरिएको आयोजकले जनाएको छ । सुन्धाराबाट सुरु भएको रथयात्रा सहर परिक्रमा गरी साँझ वसन्तपुरमा पुगेर सांस्कृतिक कार्यक्रमसहित समापन हुने बताइएको छ ।








