
दाङ,लुम्बिनी प्रदेशकी माओवादी केन्द्रबाट स्वास्थ्य राज्यमन्त्री भएकी विमलाकुमारी वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आफ्नो ‘प्रेमी’ को घरमै छिरेर आतंक मच्चाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर इप्रका तुलसीपुरमा पुर्याएको हो । मन्त्री ओली आफ्ना एक पीएसओसहित प्रेमी एकराज बस्नेतको तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको घरमा आज बिहान प्रवेश गरेकी थिइन् ।
घरभित्र छिरेर उनले ‘मेरो एकराज खोइ ?’ भन्दै एकराजकी श्रीमती र छोरीलाई समेत हातपात गरिन् । उनले कोठाभित्रको दराजसमेत तोडफोड गरेको र पर्दा च्यातेको बताइएको छ । घटना हुँदा एकराज घरमा थिएनन् । उनका आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए । इप्रका तुलसीपुरबाट प्रहरी टोली आएर विमलालाई नियन्त्रणमा लिएको छ ।
नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तर कुमार वलीको दुर्घटनामा मृत्युपछि तत्कालीन नेकपाबाट श्रीमती विमला वली सांसद निर्वाचित भएकी थिइन् ।नेकपा विभाजनपछि उनी एमाले संसदीय दलको बैठकमा सहभागी भए पनि सरकार परिवर्तनका बेला माओवादीतिर लागेकी थिइन् ।
एमालेले उनलाई कारवाही गरी प्रदेशसभा सदस्यबाट निस्कासनको सूचना सभामुखलाई दिए पनि लुम्बिनीका सभामुखले उनलाई जोगाएपछि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।







