मुस्ताङको दुर्गम भेगमा दुर्घटनाग्रस्त तारा एअर विमानको ककपिट भोइरस रेकर्डर (सीभीआर) फेला परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।प्राधिकरणका अनुसार पोखराबाट जोमसोमका लागि आइतवार बिहान उडेको उक्त विमान दुर्घटनामा पर्दा त्यसमा सवार सबै २२ जनाको मृत्यु भएको र उनीहरू सबैको शव फेला परिसकेको छ।

“दुर्घटनामा ज्यान गुमाउने सबै २२ जनाको शव र ब्ल्याक बक्स भेटिएको छ,” नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णले बताए।विमानमा सवार १९ यात्रु र चालक दलका तीन सदस्यको घटनास्थलमै मृत्यु भएको थियो।
पोखराबाट जोमसोमका लागि आइतवार उडेको ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका स्थित १४,५०० फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा सोमवार बिहान फेला परेको थियो।
दुर्घटना जाँच आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेका अनुसार दुर्घटनाग्रस्त विमानको ककपिट भोइस रेकर्डर (सीभीआर) जिम्मामा लिई आईकाओको प्रावधानअनुसार दुर्घटनाको जाँच सुरु भइसकेको छ।
कहाँ भेटियो ब्ल्याक बक्स
इन्द्रसिंह शेरचनका अनुसार ब्ल्याक बक्स भीरमा अड्किएको प्लेनकै एउटा भागबाट “काटेर सुरक्षाकर्मी र माउन्टेन गाइडहरूले” निकालेका हुन्।
ककपिट भोइस रेकर्डर (ब्ल्याक बक्स) भेटिएसँगै विमान दुर्घटना छानबिनका लागि सरकारले सोमवार गठन गरेको समितिले काम अघि बढाउने भएको छ।समितिका अध्यक्ष एरोनटिकल इन्जिनियर रतीशचन्द्र लाल सुमनले छानबिन समितिले काम सुरु गरिसकेको जानकारी दिए।

“हाम्रो काम सुरु भइसकेको छ। हामीले दुर्घटनास्थलमा अवलोकन गरेका नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूसँग कुराकानी गर्छौँ,” उनले भने।दुर्घटनामा परेको ट्विनअटर विमान ४३ वर्ष पुरानो भएको बताइएको छ।
उक्त मोडलको विमानमा फ्लाइट डेटा रेकर्डर नहुने छानबिन समिति सदस्यसचिव समेत रहेका नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए।
“ब्ल्याक बक्समा ककपिट भोइस रेकर्डर र फ्लाइट डेटा रेकर्डर दुवै हुन्छन्। यो मोडलको विमानमा चाहिँ ककपिट डेटा रेकर्डर मात्रै हुन्छ र त्यो पनि ब्ल्याक बक्सकै एउटा भाग हो,” उनले भने।BBC







