आइतवार बिहानबाट सम्पर्कविहीन भएको तारा एअरको एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ।
प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले भनेः “१४ वटा शव बरामद भएको छ। जीवित भेटिनसक्ने अनुमानमा खोजी कार्य जारी छ।”

नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले “फिस्टेल एअरको हेलिकोप्टरले मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर २को सानुसरे भन्ने ठाउँमा १४,५०० फिटको उचाइमा विमान दुर्घटना भएको पुष्टि गरेको” जनाएको छ।
प्राधिकरणले उक्त हेलिकोप्टर दुर्घटना स्थल अवतरण गरेको र उद्धारको कार्य तीव्र रूपमा जारी रहेको जारी विज्ञप्तिमा उल्लेख गरेको छ।
नेपालमा भएका केही ठूला हवाई दुर्घटनाहरू

एप्रिल २०१९- सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा गएर ठोकिँदा कम्तीमा तीन जनाको मृत्यु
फेब्रुअरी २०१९ – एअर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरानजिकै दुर्घटनामा पर्दा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु
सेप्टेम्बर २०१८ – गोर्खाबाट काठमाण्डू आउँदै गरेको एल्टिट्यूड एअरको हेलिकप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त, एक जापानी पर्यटक र अन्य पाँच जनाको मृत्यु
मार्च २०१८ – बाङ्ग्लादेशबाट नेपाल आएको यूएस-बाङ्ग्ला एअरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त, ५१ जनाको मृत्यु
फेब्रुअरी २०१६ – पोखराबाट जोमसोम उडेको तारा एअरको विमान दुर्घटनाग्रस्त, २३ जनाको मृत्यु
मे २०१५ – भूकम्पपछिको राहत तथा उद्धारकार्यमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर चरीकोटनजिकै दुर्घटनाग्रस्त; छ अमेरिकी सैनिक, दुई नेपाली सेनाका अधिकारी र पाँच सर्वसाधारणको मृत्यु
जुन २०१५: सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डसले चार्टर गरेको हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
मार्च २०१५ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सुका कारण टर्किश एअरको विमान धावन मार्गबाट चिप्लिँदा चार दिन विमानस्थल बन्द
फेब्रुअरी २०१४ – पोखराबाट जुम्ला उडेको नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु
सेप्टेम्बर २०१२ – काठमाण्डूबाट लुक्ला उडेको सीता एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनाग्रस्त, विमानमा रहेका सबै १९ जनाको मृत्यु
मे २०१२ – भारतीय तीर्थयात्री बोकेर पोखराबाट जोमसोम उडेको अग्नि एअरको विमान जोमसोम विमानस्थलनजिकै दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु
सेप्टेम्बर २०११ – हिमालको दृश्यावलोकनक अर्थात् माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको एउटा विमान काठमाण्डूनजिकै कोतडाँडामा दुर्घटनाग्रस्त; नेपाली, भारतीय, र अन्य देशका नागरिकसहित १४ जनाको मृत्यु
डिसेम्बर २०१० – लामीडाँडाबाट काठमाण्डू उडेको विमान ओखलढुङ्गामा दुर्घटनामा पर्दा १९ यात्री र चालकदलका तीन सदस्यको मृत्यु
सेप्टेम्बर २०१० – हिमालको दृश्यावलोकनका लागि उडेको विमान काठमाण्डूनजिकै दुर्घटनाग्रस्त
अगस्ट २०१० – काठमाण्डूबाट लुक्लातर्फ उडेको विमान दुर्घटनामा पर्दा १४ जनाको मृत्यु
अक्टोबर २००८ – लुक्ला विमानस्थलमा अवतरण गर्ने बेला दुर्घटनामा १८ जनाको मृत्यु, एक जना घाइते
सेप्टेम्बर २००६ – सङ्खुवासभाको घुन्सामा श्री एअरको हेलिकप्टर दुर्घटनामा पर्दा २४ जनाको मृत्यु, मृत्यु हुनेमा वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा. हर्क गुरुङ, डा. सीबी गुरुङ, तीर्थमान मास्के BBC







