
काठमाडौं, प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने निजी स्वास्थ्य संस्था एव मेडिकल कलेजहरुविरुद्ध अदालत जाने तयारी थालेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलबार सम्पन्न प्रदेश सङ्कट व्यवस्थापन केन्द्र (पिसिएमसी)को बैठकले कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने प्रदेशस्थित मेडिकल कलेजसहित निजी स्वास्थ्य संस्थाविरुद्ध अदालत जाने तयारी थाल्ने निर्णय गरेको हो ।
बैठकले समाजिक विकासमन्त्रीको संयोजकत्वमा सुरक्षा निकायका प्रमुखसमेत रहने गरी समन्वय समिति गठन गर्दै उक्त समितिले मेडिकल कलेजसहितका निजी स्वास्थ्य संस्थासँग कोरोना व्यवस्थापनको विषयमा पहिलो चरणमा छलफल गर्ने, मेडिकल कलेज तथा निजी अस्पताललाई सङ्घीय सरकारले तोकेको दर उपलब्ध गराई कोभिड उपचारका लागि प्रयोग गर्ने निर्णय गरेको छ । त्यसपछि पनि मेडिकल कलेज तथा निजी अस्पतालले कोभिड उपचारमा सहयोग नगरे कारवाही तथा दर्ता खारेजका लागि सङ्घीय सरकारमा लेखी पठाउने तथा कानूनबमोजिम कारवाहीका लागि मुद्दा प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
बैठकले प्रदेशमा समुदायस्तरमै फैलिँदै गएको कोरोना महामारी नियन्त्रणमा रहेका अप्ठ्यारा एवं सरकारले गर्नुपर्ने कामबारे जिल्लास्तरबाटै जानकारी लिन प्रदेशको चार स्थानमा दुई÷दुई जिल्ला समेटिने गरी बैठक गर्ने निर्णयसमेत गरेको छ । साथै प्रदेश सरकार र पिसिएमसीले विगतमा गरेका निर्णयहरु अविलम्ब कार्यान्वयन गर्न सरोकारवालालाई निर्देशनसमेत दिएको छ ।







