
काठमाडौं– राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । १०१ वर्षीय घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निजी निवास लैनचौरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।१०१ वर्षीय घिमिरे केही दिनअघि अस्वस्थ्य थिए ।वि.सं. १९७६ साल असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएकाे घिमिरे २०७५ साल असोजमा सय वर्ष प्रवेश गरेमा थिए ।
१९९२ सालमा गोरखापत्रमा आफ्नो कविता प्रकाशित गरेर साहित्य क्षेत्रमा प्रवेश गरेका घिमिरेकाे नव मञ्जरी, गौरी, मालती मङ्गले, हिमालपारि हिमालवारि, राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी, चारु चर्चा, आफ्नो बाँसुरी आफ्नै गीतलगायतका धेरै चर्चित कृतिहरु प्रकाशित छन् । २०६० सालमा तत्कालिन सरकारले उनलाई राष्ट्रकवि घोषणा गरेको थियो ।घिमिरे पद्यश्री साधना सम्मान, महाउज्ज्वल पदकसहित दर्जनौं पदक, सम्मान र पुरस्कारबाट पुरस्कृत र विभूषित भैसकेका थिए ।





