
महेन्द्रनगर, कञ्चनपुरको बेदकोट नगरपालिका–१० पथरीयामा आज जङ्गली बँदेलको आक्रमणबाट चार जना घाइते भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको बँदेलको आक्रमणबाट कञ्चनपुरको बेदकोट नगरपालिका–१० का ५० वर्षीय भोजबहादुर सार्की, १८ वर्षीय गुलसन सुनार, ४५ वर्षीय चैते सुनार र ४८ वर्षीय उदय रावल घाइते भएको प्रहरीले जनाएका छन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घाइतेहरुको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचार भइरहेको बताएका छन । “जङ्गलबाट गाउँ पसेर खेतबारीमा काम गरिरहेकादेखि सडकमा हिँडिरहेका स्थानीयवासीलाई आक्रमण गरेको छ”, उनले बताए , “यसअघि पनि सोही बँदेल गाउँमा आएर आक्रमण गरेको भन्ने पनि बुझियो ।”





