
जाजरकोट, बाढीपहिरोका कारण खानेपानीका मुहान, पाइन लाइन बगाउँदा बारेकोटका स्थानीयवासी वर्षाको भल पानी पिउन बाध्य भएका छन् । गत असार २५ गते गएको बाढीपहिरोले जाजरकोटको दुर्गम बारेकोट गाउँपालिकामा खानेपानी आयोजना अवरुद्ध बनाएको छ ।
खानेपानी अवरुद्ध भएपछि बारेकोटका दुई हजार घरपरिवार शुद्ध खानेपानीको सुविधाबाट वञ्चित भएका छन् । बारेकोट–४ सार्कीटोल, जिरी, तल्लो जिरी, तलकोट, गोठगाउँ, वडा नं ५ को तोलखाना, कालाखोली, भैलोखाना, वडा नं ६ को धुमा, घर्तीगाउँ, ताँसी, वडा नं ७ को स्याला, सुवाकोट, लुहाग, वडा नं १ को धौलाकोट, कोट्ली, तल्लो सिर्पाचौर, तलिआगरलगायत वडाका बस्तीमा खानेपानीको चरम अभाव भएको छ ।
पहिरोका कारण दर्जनाँै खानेपानी आयोजना बन्द भएका छन् । गाउँमा आपूर्ति हुँदै आएका खानेपानी पहिरोले क्षति पु¥याएपछि स्थानीयवासी वर्षाको भल खोलामा बग्ने धमिलो पानी पिउन बाध्य भएको बारेकोट–४ का भक्तबहादुर शाहीले बताएका छन । शुद्ध पिउने पानी अभावमा स्थानीय बासिन्दामा झाडापखाला, आउँ, जुकालगायत रोगको जोखिम बढेको छ ।





