February 1, 2023, Wednesday
२०७९ माघ १९, बिहीबार

भ्रातृ संस्थालाई बलियो बनाएर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्छ : डा कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले भ्रातृ एवं शुभेच्छुक संस्थालाई बलियो बनाएर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ५३औँ वार्षिकोत्सवका अवसरमा नेविसङ्घ उपत्यका क्याम्पस एकाइले आज यहाँ आयोजना गरेको ‘स्थानीय निर्वाचनमा नेविसङ्घको भूमिका र पार्टीको दायित्व’ विषयक अन्तरक्रियामा उहाँले भ्रातृ एवं शुभेच्छुक संस्थालाई बलियो बनाएर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताउनुभएको हो ।

“हामी के कारणले कम्युनिष्टसँग मिलेर निर्वाचनमा जान खोजिरहेका छौँ, कांग्रेस एक्लै लड्यो भने पनि आफ्नो गन्तव्यमा पुग्न सक्छ”, डा कोइरालाले भन्नुभयो । उहाँले कांग्रेसलाई कुनै शक्तिको वैशाखी टेक्नु नपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।

उहाँले आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन सबै विद्यार्थी लाग्नुपर्ने बताउनुभयो । नेविसङ्घलाई पूर्णता दिएमात्र कांग्रेस बलियो हुने उहाँको भनाइ थियो ।

कांग्रेस उपसभापति धनराज गुरुङले नेविसङ्घको भविष्यलाई अँध्यारोमा राखेर कांग्रेसको भविष्यमा उज्यालो खोज्न नहुने बताउनुभयो । उहाँले पार्टीको वैचारिक धरातललाई थाँती राखेर प्राविधिक धरातल खोज्न जाँदा पार्टी सङ्कटमा पर्ने भन्दै यसप्रति कांग्रेस नेतृत्व सजग हुनुपर्ने बताउनुभयो ।

“कांग्रेस बचाउनका लागि बाहिर धामीझाँक्री खोज्नुभन्दा नेविसङ्घ बचाउन जरुरी छ”, उहाँले भन्नुभयो । उहाँले आगामी निर्वाचनमा कांग्रेसलाई जिताउन भरमग्दुर प्रयत्न गर्नुपर्ने बताउनुभयो । कांग्रेसलाई तालमेलले भन्दा पनि एजेन्डाले जिताउनुपर्ने उहाँको भनाइ थियो ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनलगत्तै नेविसङ्घ केन्द्रीय कार्यसमितिले पूर्णता पाउने बताउनुभयो । “नेविसङ्घको वर्तमान कार्यसमितिले नै निर्वाचन गर्छ”, उहाँले भन्नुभयो ।

महामन्त्री थापाले कांग्रेसले आफ्ना मतदाता बढाउने गरी सङ्गठन विस्तारमा लाग्नुपर्ने बताउनुभयो । “विगतमा बनेका सरकार हेर्दा पनि कम्युनिष्टसँग गठबन्धन गर्दा भरपर्दो देखिँदैन, कम्युनिष्ट पार्टीको गठबन्धनमा कांग्रेस सरकार बन्ने प्रवृत्तिको अन्त्यका लागि कांग्रेसले सङ्गठन विस्तार गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

शीर्ष समाचार

धेरै पढिएको