
मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविमा चैत ६ गते हिंसात्मक झडपमा परी मृत्यु भएकी महिला प्रहरी जवान उर्मिला श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा २० जनालाई प्रहरीले मुद्धा चलाएको छ । प्रहरीले पहिलो चरणमा नौ जना र पछि थप ११ जना गरी २० जनालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका २० जनालाई प्रहरीले जिल्ला अदालत मोरङमा ‘कर्तव्य ज्यान मुद्दामा’ म्याद थप गरी अनुसन्धान सुरू गरेको जनाएको छ ।
घटनाको अनुसन्धान गर्दै हत्यामा संलग्नलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख जनार्दन जिसीले बताए । “अहिलेसम्म २० जनालाई पक्राउ गरिएको छ,” उनले भने – “घटनाको थप अनुसन्धान भइरहेको छ ।
लेटाङ घटनाको अनुसन्धानको लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी), १ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङको संयुक्त टोली परिचालन गरेको छ । गोरखापत्रमा खबर छ ।







