
म्याग्दी, मुस्ताङको घासाबाट म्याग्दीको दानातर्फ आउने क्रममा घोप्टे भिरमा खसेको पहिरोबाट खसेर आइतबार रघुगङ्गा गाउँपालिका–१ बेगखोलाकी अममाया गर्बुजा घाइते हुनुभयो । हिँडिरहेको बेला भिरबाट खसेको पहिरोले चोट लागेर गर्बुजाको देब्रे हात भाँचिएएको छ ।
पहिरोसँगै करिब १० मिटर तल कालीगण्डकी नदी किनारमा खसेकी गर्बुजालाई नेपाली सेनाको बज्रदल गणको घाँसा सुरक्षा बेस क्याम्प, प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । पहिरो पार गर्ने क्रममा भिरबाट एक्कासि खसेको ढुङ्गा, माटोसहितको पहिरोले चोट लागेको घाइते गर्बुजाले बतएका छन ।
अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गामा खसेको पहिरोले पुरिएर साउन ६ गते सोही पालिकाको ३ नम्बर वडामा पर्ने काभ्रेका ३२ वर्षीय झलक पुनको ज्यान गयो । बेनीबाट काभ्रेस्थित घरतर्फ जाने क्रममा हिँडिरहेको अवस्थामा भिरबाट खसेको पहिरोले पुरिएका पुनको घटनास्थलमै मृत्यु भएको थियो ।
यसअघि म्याग्दीको उत्तरी क्षेत्र हँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा पहिरोका कारण पछिल्लो एक महिनायता दुई जनाको ज्यान जानुका साथै एक जना घाइते भएका छन् । साँघुरो र अक्करे भिरमा खनिएको सडकमा खसिरहने पहिरोका कारण यात्रा जोखिमपूर्ण बनेको छ ।
गत असार २६ गतेदेखि अवरुद्ध बेनी जोमसोम सडकको विभिन्न ठाउँमा खसेको पहिरो पार गर्न जोखिमपूर्ण पैदलयात्रा गर्नुपर्छ । ठाउँ ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने कष्टकरसँगै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको दानाका जितबहादुर पुर्जा बताउछन ।





