June 1, 2023, Thursday
२०८० जेष्ठ १८, बिहीबार

गोलको आगो बालेर सुत्दा ललितपुरमा नवजात शिशुसहित ५ जनाको मृत्यु

ललितपुर, ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ स्थित नल्लुमा २ दिनअघि शिशुको जन्म भएपछि स्याङ्तान परिवारमा खुसी छाएको थियो तर त्यो खुसी लामो समयसम्म टिक्न सकेन ।

स्याङ्तान परिवारमा खुसी छर्ने शिशु र खुसी मनाउने सदस्यले नै अकालमा ज्यान गुमाएका छन् । नल्लुका ५५ वर्षीया काँइली स्याङ्तान र नवजात शिशुसहित ५ जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । नवजात शिशुलाई चिसोबाट बचाउन घरभित्र गोलको आगो बालेर सुत्दा कार्बन पोइजनिङका कारण उनीहरूको मृत्यु भएको हो ।

गाउँपालिकाकी उपाध्यक्ष मिङ्मा लामाका अनुसार मृत्यु हुने अन्यमा काइँलीकी माहिला छोरापट्टिका छोरा ९ वर्षीय आशिष स्याङ्ता, ७ वर्षीया आस्मा स्याङ्तान र कान्छी बुहारी २२ वर्षीया सुष्मा स्याङ्तान रहेका छन् । सुष्मा २ दिने शिशुकी आमा हुन् ।

२ दिने शिशुलाई प्रसूृति गृहबाट अघिल्लो दिन मात्र घर लगिएको थियो । ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहका अनुसार २ दिने शिशुका बुवा २३ वर्षीय सुभाष स्याङ्तानको अवस्था गम्भीर छ । बेहोस अवस्थामा भेटिएका उनको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

प्लास्टर गरेको र जस्ताको छानो भएको एकतले घरमा उनीहरू मृत भेटिएका थिए । घरभित्र हावा छिर्ने र बाहिर निस्कने भेन्टिलेसन नभएकाले मृत्यु भएको हुन सक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले जनाएका छन् । ६ जना परिवारका सदस्यहरू घरभित्र आगो बालेर सुतेको थिए । २ दिनअघि बच्चा जन्माएकी सुस्मा र नवजात शिशुलाई न्यानोमा राख्न उनीहरूको कोठामा गोलको आगो बालेर सुतेको हुन सक्ने वडाध्यक्ष तीर्थ घलानले जानकारी दिए ।

काइँलीका जेठा छोरा गाउँमै बेग्लै घरमा बस्छन् । माहिला छोरा बुहारी भने रोजगारीका सिलसिलामा मुलुकबाहिर छन् ।

घटनास्थलमा फरेन्सिक चिकित्सकको टोली र प्रहरी अधिकृतको टोलीले अनुसन्धान गरेको छ । ललितपुरका एसएसपी यज्ञविनोद पोखरेल सहितको टोली सोमवार घटना भएको स्याङ्तानको घरमा पुगेका थिए ।

मृत्युको कारण यस्तो

नल्लुमा एकै परिवारको ५ जनाको मृत्यु हुनुको कारण ‘कार्बन पोइजनिङ’ हुन सक्ने पाटन अस्पतालका फरेन्सिक विज्ञको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । यद्यपि मृत्युको आधिकारिक कारण पोस्टमार्टम रिपोर्टमा मात्रै खुल्ने महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले बताए ।

घटनास्थलमा पुगेका प्रहरी सहितको फरेन्सिक विज्ञले ‘कार्बन पोइजनिङ’का कारण मृत्युको भएको प्रारम्भिक जानकारी दिएको एसपी शाहले बताए ।

निसास्सिएर मृत्यु हुनुलाई मेडिकलको भाषामा कार्बन पोइजनिङ भन्ने गरिन्छ । ‘भर्खर बनाएको घरको झ्याल खुला भएकाले भित्र आगोबाट आएको तातोमा बाहिरको चिसो नआओस् भनि बलियो गरेर झ्यालमा प्लास्टिक र बोरा लगाएर सुतेका रहेछन्,’ एसपी शाहले भने, ‘त्यसैले धुँवा राम्रोसँग बाहिर निस्किन पाएन, अक्सिजनको कमी भयो र यस्तो घटना भएको हुन सक्छ ।’ पोस्टमार्टम रिपोर्ट मंगलवार मात्र आउने उनले बताएको आजको राजधानीमा खबर छ ।

शीर्ष समाचार

धेरै पढिएको