आगलागी पीडितलाई राहत दिन एमाले र कांग्रेसको माग

दमौली, नेपाली कांग्रेस र नेकपा (एमाले)ले आइतबार तनहुँको व्यास नगरपालिका–४ मा भएको आगलागीबाट पीडित भएका स्थानीयलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
सो आगलागीबाट घर क्षति भएकालाई उचित राहत उपलब्ध गराउन ती दुई पार्टीले सरकारसँग माग गरेका हुन् ।
कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जारी गरेको विज्ञप्तिमा भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्स र त्यस आसपासका अन्य व्यावसायिक तथा घरमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उचित राहतको माग गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “भीषण आगलागी नियन्त्रणका लागि सहयोग पुर्याउने सबैप्रति कृतज्ञता व्यक्त गर्दै क्षतिको यथार्थ मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दछौँ ।”
यता एमाले तनहुँले पनि आगलागीबाट पीडित भएकालाई राहत उपलब्ध गराउन माग गरेको छ । एमाले जिल्ला उपसचिव प्रदीपराज अधिकारीले दुःखको घडीमा सहानुभूति प्रकट गर्दै क्षतिको यकिन मूल्याङ्कन गरी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
यसैगरी प्रहरीका अनुसार आगलागीबाट भूपाल हार्डवेयरको गोदाम पूर्णरुपमा क्षति भएको छ । त्यस्तै ज्योतिकुमार श्रेष्ठको तीनतले पक्की घरको आंशिक र गोदाम पूर्णरुपमा क्षति भएको छ ।
प्रतिकृया दिनुहोस्