ठूलोढुङ्गा (पल्सुङ ओढार) को जोखिम हटाउदै नेपाली सेना

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित नेगीगाउँमा बस्तीमाथि रहेको ठूलोढुङ्गा (पल्सुङ ओढार)लाई नेपाली सेनाको जबरजङग गणले हटाउन सुरु गरेको छ ।विसं २०७२ को भूकम्पको कम्पनले डगमगाएको ढङ्गा हरेक वर्ष स्थान छाडेर बग्न थालेसँगैँ त्यसलाई सेनाले विस्फोटक पदार्थ प्रयोग गरेर हटाउन सुरु गरेको हो ।
ढुङ्गाले बस्तीमा जोखिम पुर्याएसँगै स्थानीयवासीको आग्रहमा दुप्चेश्वर गाउँपालिकाले जिल्ला विपद् व्यवस्थापन समितिमा ढुङ्गा हटाइदिन गरेको आग्रह अनुसार आजदेखि काम सुरु गरिएको छ । उक्त ढुङ्गाले नेगीगाउँका ४७ घरधुरी बासिन्दासहित एक आधारभूत विद्यालय जोखिममा परेको प्राविधिक प्रतिवेदनका आधारमा नेपालमा उपलब्ध प्रविधि, स्रोतसाधनको परिचालन गरेर ढुङ्गा हटाउन दुप्चेश्वर गाउँपालिकासँग गरेको सम्झौता अनुसार काम थालिएको जबरजङग गण देवीघाटका गणपति (प्रमुख सेनानी) अरुण कार्कीले जानकारी दिए ।
उनका अनुसार गत सोमबारदेखि प्राविधिक टोली पुगेपनि आवश्यक उपकरण हेलिकप्टरमार्फत बुधबार त्यहाँ पुराएसँगै ढुङ्गा फुटाउने पहिलो ब्लाष्टिक आज गरिएको हो । “मानवीय सहायताबाट हटाउन प्रयास गरेपनि त्यो सम्भव देखिएन”, प्रमुख सेनानी कार्कीले भने, “नेपालमा उपलब्ध उपकरणसहित स्रोतसाधनलाई हेलिकप्टरमार्फत पुर्र्याइ विस्फोटक पदार्थको सहयोगले जोखिम ढुङ्गा हटाइने छ ।”
नेपाली सेना र नागरिकबीचको सम्बन्ध थप मजबुद बनाउन प्राप्त जिम्मेवारीको काम सैनिक टोलीमार्फत अघि बढाइएको हो । जबरजङग गणको नेतृत्वमा नेपाली सेनाको एकसय जना सैनिकलाई ढङ्गा हटाउन दुई महिना लाग्ने अनुमान गरिएको छ । उक्त ढुङ्गालाई स्थानीय तामाङ समुदायले पल्सुङ ओढार भन्ने गरेका छन् ।
तामाङ भाषामा पल्सुङ भनेको ठूलो हो । त्यहाँ दुई ठूला ढुङ्गा मिलेर ओढार बनेको छ । ओढारमा स्थानीयवासीले दाउरा, खोस्टा राख्ने तथा बारीमा काम गर्दा आराम गर्ने स्थल बनाएका थिए ।
ढुङ्गाको तौल र आकार के कति परिणाममा भन्ने एकीन नभए पनि बाहिरी सतह २० हजार घनामिटर भन्दाबढीको हुनसक्ने अनुमान गरिएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए । उनका अनुसार ढुङ्गा अडिएको स्थान भीरक्षेत्र र स्थान्तरण गरिएको बस्ती नजिकैपर्ने हुँदा दिउँसो मात्रै काम गरिने नेपाली सेना र पालिकाबीच भएको सम्झौतामा उल्लेख छ ।
प्रतिकृया दिनुहोस्