पोखरामा देखियो बर्ड फ्लु, २०० भन्दा बढी हाँस र कुखुरा नष्ट

कास्की, पोखरामा हाँस र कुखुरामा बर्ड फ्लु संक्रमण भेटिएको छ । पोखरा महानगरपालिका–१५ र १७ का घरपालुवा कुखुरा र हाँसमा बर्ड फ्लुको सङ्क्रमण भेटिएको हो ।
कुखुरा र हाँस धमाधम मर्न थालेपछि जिल्ला प्रयोगशालामा ल्याएर आरडीटी परीक्षण गर्दा बर्ड फ्लु पोजेटिभ देखिएको हो ।
जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति कास्कीका सञ्चार अधिकृत डा ग्रीष्म न्यौपानेका अनुसार ती वडामा खटिएको प्रविधियुक्त टोलीले २०० भन्दाबढी सङ्ख्यामा कुखुरा, हाँस र बट्टाईसहित प्रयोग हुने दाना, सुलीलगायतका पक्षी र पक्षीजन्य पदार्थ नष्ट गरिएको हो ।
सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भने, ’यो क्षेत्रमा व्यावसायिक फार्म नभए पनि खुला जग्गा र घरको छतमा राखेर पाल्ने सङ्ख्या सोचेभन्दा बढी भेटिएको छ ।’ यसैगरी बुधबारदेखि दुवै ठाउँमा फागुन २७ गतेसम्म पक्षी र पक्षीजन्य पदार्थको ओसारपसारमा समेत रोक लगाइएको उनको भनाइ छ ।
पोखरा–१५ सीताराम पुल नजिक सिद्धिमार्ग अलस्कापुर टोलका खुशीमान गुरुङ र पोखरा–१७ घारीपाटन हिमाल दूध डेरी नजिक खेमबहादुर क्षेत्रीले पालेको स्थानीय जातका कुखुरामा बर्डफ्लु भाइरस देखिएको बताइएको छ ।
प्रतिकृया दिनुहोस्