May 31, 2023, Wednesday
२०८० जेष्ठ १८, बिहीबार

दूतावासविरुद्ध स्टाटस लेखेको अभियोगमा पत्रकार उमाकान्तलाई तीन महिना कैद सजाय

सामाजिक सञ्जाल फेसबुकमार्फत युएईस्थित नेपाली दूतावासको आलोचना गरेकै आरोपमा पत्रकार उमाकान्त पाण्डेले तीन महिना जेल सजाय र झन्डै आठ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । उनलाई दुबई अदालतले मंगलबार तीन महिना जेल सजाय हुने फैसला गरेको हो ।

दुबई बसेर नेपाली पत्रकारिता गर्दै आएका पाण्डेलाई सजाय भुक्तानपछि युएई सरकारले देश निष्कासन (डिपोट) गर्नेछ । उनका सबै सामग्री जफत हुने र सामाजिक सञ्जाल फेसबुक बन्द गरिनेछ । पाण्डेले जरिवानाबापत २० हजार दिराम (सात लाख ९९ हजार चार सय रुपैयाँ) जरिना तिर्नुपर्नेछ ।

गत जनवरीमा नेपालमै हुँदा उनले युएईस्थित नेपाली दूतावासको क्रियाकलापका सम्बन्धमा फेसबुकमा स्टाटस लेखेका थिए । त्यसलगत्तै रुष्ट दूतावासका कर्मचारीले दुबई प्रहरीमा जाहेरी दिएका थिए ।

सोही जाहेरीका आधारमा उनलाई प्रहरीले गत ३ फागुनमा पाण्डेलाई पक्राउ गरेको थियो । लगत्तै अबुधावीस्थित अल वाथ्बा जेलमा राखिएको थियो । सामाजिक सञ्जालमा स्टाटस लेखेकै विषयलाई कसुर ठहर्‍याएर दुबई अदालतले यस्तो फैसला गरेको हो ।

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले दूतावासका सम्बन्धमा स्टाटस लेखेकै कारण उजुरी गर्नु र सजाय हुनु अभिव्यक्ति स्वतन्त्रताविपरीत भएको बताए । ‘पाण्डेजीले युएईस्थित नेपाली दूतावासको क्रियाकलापका सम्बन्धमा स्टाटस लेख्नुभएको रहेछ । सोही विषयमा दूतावासले दुबई प्रहरीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरी जेल हालिएको थियो । दुबई अदालतले गरेको सजाय नेपालको कानुनविपरीत छ । नेपाली दूतावासको कदमले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको छ । नेपाल पत्रकार महासंघले दूतावासको यो कदमको विरोध गर्छ,’ उनले भने ।

महासंघका अनुसार स्टाटसविरुद्ध दूतावासका कर्मचारी इरफान खानले प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीपछि पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो । सामाजिक सञ्जाल दुरुपयोग गरी नियोगको मानहानि गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । दुबई अदालतले उनलाई सोही अभियोग प्रमाणित गरेर सजाय सुनुवाइ गरेको हो । पाण्डे केही वर्षदेखि स–परिवार दुबई बस्दै आएका छन् । उनलाई पक्राउ गरेलगत्तै महासंघले युएईस्थित नेपालका लागि राजदूत कृष्ण ढकालसँग समन्वय गरेको थियो । पाण्डेविरुद्ध दूतावासले जाहेरी नदिएको उनले महासंघलाई बताएका थिए । अदालतको फैसलापछि राजदूत ढकाल बिदामा बसेको महासंघले जनाएको छ ।

युएई दूतावासले पाण्डेलाई नियोजित ढंगले पक्राउ गर्न लगाएको भन्दै पत्रकार महासंघले यो विषय इन्टरनेसनल फेडेरेसन अफ जर्नानिस्ट (आइएफजे)मा लैजाने जनाएको छ । महासंघले पाण्डेको रिहाइका लागि परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई बिहीबार भेट्नेछ । त्यसबाहेक युएईस्थित दूतावाससँग पनि समन्वय गर्नेछ । ‘दूतावासले नियोजित ढंगले पाण्डेलाई पक्राउ गर्न लगाएको हाम्रो ठहर छ । यो विषय अब हामी आइएफजेमा उठाउँछौँ । किनकि यो नागरिकको अभिव्यक्ति स्वतन्त्रताको खिलाप छ । पाण्डे रिहाइका लागि हामी भोलि नै परराष्ट्रमन्त्रीलाई भेट्नेछौँ,’ उनले भने ।

दुबईको कानुनअनुसार अदालतको फैसला चित्त नबुझे फैसला भएको १४ दिनसम्म अदालतविरुद्ध अपिल गर्न सकिन्छ । पत्रकार महासंघले यो कदम पनि अघि बढाउनेछ । यसका लागि महासंघले केन्द्रीय सदस्य सुनील खड्कालाई यसअघि नै दुबई पठाइसकेको छ । नँया पत्रिका

शीर्ष समाचार

धेरै पढिएको