March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

पल शाह विरुद्ध जाहेरी पर्नुअघि‘फसाउने’षड्यन्त्र,के भन्छ अनुसन्धान ?

गायिका समीक्षा अधिकारी र अभिनेता पल शाहबीचको विवाद उत्कर्षमा छ । समीक्षाले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी हुन् ।जिल्ला अदालत तनहुँले पक्राउ पूर्जी जारी गरेसँगै प्रहरीले पललाई खोजिरहेको छ ।

प्रहरीका अनुसार पल फरार छन् ।पल प्रकरणमा सामाजिक सञ्जालमा छरपस्ट भएको अडियोबारे के हुन्छ भन्ने प्रश्न उठेको छ । प्रहरी र सरकारी वकिल कार्यालयले बलात्कृत किशोरीको तर्फबाट अनुसन्धान र बहस गर्छन् । सरकारी निकायले सो अडियोलाई अन्देखा गर्छन् । तर, मुद्दाको बहस गर्दा पल शाह पक्षका कानुन व्यवसायीले सो अडियोलाई प्रमाण लगाउन माग गर्न सक्छन् ।

फरार भनिएका पलले आफूलाई फसाउने षड्यन्त्र भएको भन्दै केही अडियो सार्वजनिक गरेका छन् । उनले दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंले समीक्षालाई उकासेर आफूविरुद्ध षड्यन्त्र गरेको बताएका छन् ।

सार्वजनिक अडियोमा दुर्गेशलगायतको स्वर सुनिन्छ । जहाँ समीक्षालाई उनीहरुले सुझाव दिएको सुनिन्छ ।
सुरुमा समीक्षाले पलले आफूलाई प्रयोग गरेकोभन्ने अडियो सार्वजनिक भयो । पछि पलले आफूविरुद्ध षड्यन्त्र भएकोभन्दै अडियो सार्वजनिक गरे ।

कानुनले अडियोलाई अन्तिम प्रमाण नमान्ने तर अनुसन्धानबाट प्रमाणित भए त्यसलाई आधार मान्ने अधिवक्ता प्रेम थापा बताउँछन् । “अदालतले अडियोलाई मात्रै अन्तिम प्रमाण मान्दैन ।

तर, अडियो जसको दाबी गरिएको हो उसको हो भन्ने अनुसन्धानबाट प्रमाणीत भए त्यसलाई कानुनले प्रमाण मान्छ,” अधिवक्ता थापा भन्छन्, “कसैले फलानोले मेरो आँखा फुटाइदियो भनेर अडियोमा भन्यो भने सत्य हो कि होइन भनेर हेर्दा व्यक्तिको आँखा फुटेको रहेछ भने त्यो अडियोलाई प्रमाण मान्न सकिन्छ । त्यसमा उल्लेख गरिएको कुरालाई कानुनले प्रमाण ठान्छ ।”

प्रहरीका अनुसार पल अझै पक्राउ परेका छैनन् । अदालतले पक्राउ पुर्जी जारी गरिसकेको र प्रहरीले खोजी गर्दा उनी नभेटिएको बताइएको छ । अदालत तथा प्रहरी प्रशासनलाई असहयोग गरेको ठहरमा यदि, उनी दोषी करार भएको खण्डमा भने २० प्रतिशत सजाय माफी मिनाहा नपाउने अधिवक्ता थापाको भनाइ छ ।

“पक्राउ पुर्जी जारी हुनासाथ प्रहरीको सम्पर्कमा पुगेको खण्डमा पीडकलाई २० प्रतिशत सजाय छुट हुने कानुनी व्यवस्था छ,” थापा भन्छन्, “तर, अभियुक्त फरार भए वा अदालत वा प्रहरी प्रशासनलाई असहयोग गरेको खण्डमा उक्त २० प्रतिशत सजाय छुटको सुविधा पाइँदैन ।”

पल शाहको मुद्दा अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतका अनुसार प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक अडियोबारे ‘नदेखेझैं’ गर्नेछन् । तर, डिफेन्स लयर्सले त्यसबारे कुरा उठाएमा अदालतको आदेशमा परीक्षण हुनसक्छ । अडियो परीक्षण गर्दा अडियो क्लिप काटेको हुनु हुँदैन । क्लिप काटेको भिडियो र अडियोलाई चाहिँ अदालतले प्रमाण मान्दैन । अमरेन्द्र कर्णको मुद्दामा भिडियो क्लिप बिचमा काटेको भन्दै सर्वोच्चले प्रमाणको रुपमा नमिल्ने भनेको थियो ।

भ्वाइस स्पेक्टर्म एनालाइजर मेशिन नेपालमा आउनुअघि अदालतले अडियोलाई प्रमाण मान्ने गरेको थियो । सो डिभाइस आउनुअघि अडियोमा बोल्ने व्यक्तिले स्वीकार गरेमात्र अदालतले प्रमाण मान्ने गरेको बताउँछन् वरिष्ठ अधिवक्ता खरेल । आफ्ना विरुद्ध प्रतिकुल हुने कुरा झिकेको (क्लिप काटेको) अवस्थामा चाहिँ प्रमाण लाग्दैन ।

पल शाह विरुद्ध षड्यन्त्र गरिएको अडियोबारे अनुसन्धान गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने प्रश्नमा तनहुँका एसपी राजेन्द्रबाबु रेग्मी भन्छन्, ‘हामी जाहेरी अनुसारको मुद्दालाई बलियो हुने प्रमाण संकलन गरेर सरकारी वकिल कार्यालयमा पेस गर्छौं ।’

शीर्ष समाचार

धेरै पढिएको