April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार

प्रहरीकै संलग्नतामा मधेसमा खुलेआम तस्करी !

मधेस प्रदेशमा पछिल्लो समय व्यापक तस्करी भइरहेको पाइएको छ । मधेस प्रदेशमा खुलेआम तस्करी भइरहेको भन्दै प्रधानमन्त्री कार्यालयमा रहेको ‘हेलो सरकार’मा उजुरीका चाङ छन् । प्रहरी निकायकै मिलोमतोमा मधेस प्रदेशमा तस्करी भइरहेको किटानी गर्दै हेलो सरकारमा उजुरी दिइएको छ ।

प्रधानमन्त्री कार्यालय मातहत रहेको ‘हेलो सरकार’ १ महिनाभित्रमा दर्जनभन्दा बढी उजुरी परेका छन्, जसमा तस्करी हुने नाका र तस्करका नाम नै किटान गरिएको छ । ‘हेलो सरकार’मा परेका ती उजुरीमा लेखिएको छ– ‘वीरगंजको मुख्य नाका इनर्वादेखि लिएर पर्साका ग्रामिण भेगमा रहेका नाकाहरू भिस्वा, अमरपट्टि, प्रसौनी भाठ्ठा, खेस्राहाबाट तस्करी भइरहेको छ । यो सबै प्रदेश प्रहरी, जिल्ला प्रहरी र स्थानीय प्रहरीको मिलोमतोमा भइरहेको छ । यसमाथि छानबिन होस् !’

बारामा भइरहेको तस्करीबारे पनि ‘हेलो सरकार’मा उजुरी छ । उजुरीमा भनिएको छ– ‘पछिल्लो समय बारा जिल्लाबाट व्यापक रूपमा तस्करी भइरहेको छ । यहाँका मटिअर्वा, जोतपुर, बसतपुर, तिलकुवा, कचोरवा, गोलागंज, खजानी, पथलवाघाट, सिम्रौनगढ र क्वहीगोठबाट बढी तस्करी भइरहेको छ ।’

हेलो सरकारमा परेका उजुरीहरूमध्ये पर्सा र बाराका यी नाकाहरू उदाहरण मात्र हुन् । यी २ जिल्लाबाहेक अन्य जिल्लाको अवस्था पनि उस्तै छ । स्रोतका अनुसार मधेस प्रदेशका ८ वटै जिल्लामा भारतबाट खुलेआम तस्करी भइरहेको छ । फरक यति छ कि कहीँ कम छ भने कहीँ बढी । अन्य जिल्लाभन्दा बढी पर्सा, बारा, सर्लाही, धनुषा र महोत्तरीबाट बढी तस्करी भइरहेको स्रोत बताउँछ । द नेपाल टप दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको