February 1, 2023, Wednesday
२०७९ माघ १८, बुधबार

नेपालमा अमेरिका र चीनको टकराव,यसकाे असर

एमसीसी सम्झौतामा २०१७ मा अमेरिकासँग हस्ताक्षर भएकोमा २०२२ सम्म पनि अनुमोदन भएको छैन । सम्झौता अनुसार अनुमोदन नभई कार्यान्वयन हुँदैन । तर, अनुमोदन गर्न कुनै राजनीतिक दल तयार नभएको र कुनै स्पष्ट रुपमा प्रस्तुत नभएको कारण अमेरिका कडा रुपमा प्रस्तुत भयो ।

अमेरिकी सहायकविदेशमन्त्री डोनाल्ड लूले बिहिबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरी एमसीसी पारित नभए नेपालसँगको सम्बन्ध पुनरावलोकन गर्ने चेतावनी दिए । उनले चीनतर्फ संकेत गर्दै एमसीसी सदनबाट अनुमोदन नभए चीनको हस्तक्षेप भएको बुझ्ने समेत बताएको खुलिसकेको छ ।

एमसीसीबारे अमेरिका आक्रामक रुपमा प्रस्तुत भएको छ । एमसीसी पारित गराउन अमेरिकाले मुख्य दलका शिर्ष नेताहरुमाथि दबाब बढाएको छ । अर्कोतर्फ, चीनले एमसीसी पारित हुन नदिने भूमिका खेलिरहेको विषय बाहिर आउन थालेको छ ।

चीनले एमसीसी रोक्न अप्रत्यक्ष रुपमा भूमिका खेलिरहेको चर्चा चल्न थालेको छ । यद्यपि, उसले मौनता साँधेको छ ।

एमसीसीको विषयमा अमेरिका र चीनको नेपालमा टकराव बढेको छ । दलका नेताहरु कुनै एक देशतर्फ झुकाव राखेर विभाजित हुनथालेका छन् । एमसीसीको विषयमा पक्ष या विपक्षमा देखिएर नेताहरुको झुकावहरु कतातर्फ छ भन्ने खुल्न थालेको छ ।

अमेरिका र चीनको आक्रामक उपस्थितिहरु देखिनथालेको छ । विश्वभर अमेरिकाले आफ्नो प्रभाव गुम्न नदिने रणनीति बनाइरहेको छ । चीनले पनि प्रभाव बढाउन खोजेको छ । यस्ता प्रयास र गतिविधिहरु विभिन्न तरिकाले प्रकट हुन थालेको छ ।

नेपालमा चीनले धेरै विकास आयोजनाहरु बढाएको छ । अमेरिकाले त्यसलाई चुनौती दिन रणनीतिक रुपमा विकास आयोजनाहरु अगाडि सारेको छ । सहयोगहरु आएका छन् । तर, सहयोगको नाममा नेताहरुबीच विवाद र टकराव बढ्न थालेको छ ।

नेपालमा शक्तिराष्ट्रको टकरावले नयाँ चुनौतीहरु देखिएका छन् । राजनीतिक गतिरोधहरु बढ्दै दुर्घटनाको खतरा समेत बढेको छ ।

शीर्ष समाचार

धेरै पढिएको