February 1, 2023, Wednesday
२०७९ माघ १९, बिहीबार

सर्लाहीमा बस दुर्घटना हुँदा १२ जना घाइते, एकको मृत्यु

सर्लाही, सर्लाहीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँके जंगलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

उक्त बसमा सवार १२ जना घाइते भएका छन् ।सिरहाको बरियारपट्टीबाट काठमाडौँतर्फ आउँदै गरेको ना७ख ७५३ नंको रात्रिबसले विपरीत दिशा जाँदै गरेको ना२९प ४४९८ नंको मोटरसाइकललाई गएराति ठक्कर दिएको हो ।

सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार मोटरसाइकललाई ठक्कर दिएपछि रात्रिबस राजमार्ग बायाँ साइडमा पल्टिँदा बसमा सवार ४० जनामध्ये १२ यात्रु घाइते भएको हो । बसको ठक्करबाट मोटरसाइकल पछाडि सवार ईश्वरपुर–१२, घारीबथानका २७ वर्षीय भक्तबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको छ भने सोही ठाउँ निवासी मोटरसाइकल चालक २६ वर्षीय अरुण खड्का गम्भीर घाइते भएका छन् ।

उनलाई लालबन्दीस्थि गढीमाई अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि नेसनल मेडिकल कलेज वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ । लालबन्दी मोडेल अस्पतालमा उपचारपश्चात सात जना डिस्चार्ज भई आ–आफ्नो घरतर्फ फर्किसकेको र बाँकी चार घाइते सोही अस्पतालमा उपचार भइरहेको छ

शीर्ष समाचार

धेरै पढिएको