September 23, 2023, Saturday
२०८० आश्विन ६, शनिबार

सहिदकै त्याग र बलिदानबाट जनताको शासन स्थापित: प्रधानमन्त्री देउवा

काठमाडौं, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रुपान्तरणका लागि अहोरात्र सङ्घर्षमा खटिने सहिदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई आज जनताको शासन स्थापित हुनसकेको उल्लेख गरेका छन् । आज सहिद दिवसका अवसरमा शुभकामना सन्देशमार्फत उनले यस्तो बताएका हुन् ।

विसं २००७ को एकतन्त्रीय जहाँनिया राणाशासन विरुद्धको क्रान्तिदेखि २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलन तथा २०६२/६३ मा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनलगायत विभिन्न राजनीतिक परिवर्तन सहिदकै त्याग, तपस्या र बलिदानबाट सफल भएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले नेपालमा प्रजातन्त्र र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापनाका लागि आफ्नो अमूल्य जीवन गुमाएका सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतन्त्र प्राप्तिको सङ्घर्षमा घाइते भई स्वास्थ्योपचार गराइरहेका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । मुलुकमा राजनीतिक परिवर्तन, नागरिक स्वतन्त्रता र विधिको शासन स्थापना गर्ने जोखिमपूर्ण आन्दोलनमा खटिएका सबै सहिद मुलुकका सच्चा सपूत भएको बताए ।

उनले उल्लेख गरे, “आज हामी जे–जस्तो स्वतन्त्रता र आत्मसम्मानका साथ बाँच्न पाइरहेका छौँ, राज्यको सबै तह र संरचनामा आम नागरिकको जे–जस्तो पहुँच स्थापित हुनसकेको छ, तथा जे–जस्तो शासकीय व्यवस्थाबाट मुलुकलाई अघि बढाइरहेका छौँ त्यो सबै सहिदहरूको योगदानबाट नै सम्भव भएको हो ।”

शीर्ष समाचार

धेरै पढिएको