September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

एमालेलाई धक्का दिन सत्ता गठबन्धनले चुनाव धकेल्दै

सत्ता गठबन्धनले चुनाव धकेल्ने भएका छन् । संविधान अनुसार ५ जेठबाट स्थानीय निकायका जनप्रतिनिधिको कार्यकाल सकिने भएपनि त्यस अगावै चुनाव गरिसक्नुपर्नेमा सरकारले तत्काल कुनै निर्णय नगर्ने निश्चित भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावबारे राष्ट्रपति विद्यादेवी भण्डारीसँग १३ माघमा परामर्श गरे । भण्डारीले तत्काल स्थानीय चुनावको घोषणा गर्न आग्रह गरेपनि देउवाले गठबन्धनसँग छलफल गरेर मात्र बढ्ने जवाफ दिएको खुलिसकेको छ ।

देउवाले आज केन्द्रीय कमिटीको भर्चुअल बैठकमा यसबारे छलफल गर्ने भएका छन् । उनी निर्वाचन धकेल्ने पक्षमा रहेको बुझिएको छ ।

निर्वाचनसम्बन्धी ऐन परिवर्तन गरेर २०७९ फागुनमा गर्ने गरी देउवा बढ्न खोजेका छन् । गठबन्धनको घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फागुनमा तीन तहको चुनाव एकैपटक गर्ने प्रस्ताव गरिसकेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखमा प्रतिनिधि सभाको निर्वाचन पहिले गर्न प्रस्ताव गरेर तरंग ल्याइदिएका थिए ।गठबन्धन कि प्रतिनिधि सभाको चुनाव पहिले गर्न चाहन्छ कि तीन तहको चुनाव एकैपटक गर्न चाहन्छ । चुनाव धकेल्ने रणनीतिमा गठबन्धन पुगेको स्पष्ट भइसकेको छ ।

गठबन्धन कायमै राखेर चुनावमा जाने देउवा, प्रचण्ड र नेपालको तयारी रहेको खुलिसकेको छ । यसरी चुनावमा एमालेलाई धक्का दिने गरी गठबन्धन जान खोजेको देखिन्छ । पछिल्लो समय भएका राष्ट्रिय सभा र प्रदेश सरकार गठनको मतदानमा एमालेले नराम्रो धक्का खाइसकेको छ । यसैलाई निरन्तरता दिन पनि गठबन्धन रणनीतिक रुपमा लागेको देखिन्छ ।

शीर्ष समाचार

धेरै पढिएको