September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

सामान्य मानिसको खातामा तीन महिनामै साढे ३७ करोड बढी रुपैयाँ जम्मा भएपछि…

राजस्व अनुसन्धान विभागले पाँच साताअघि विदेशी विनिमय अपचलनसम्बन्धी एउटा अनौठो सूचना पायो ।सुन्दा नै अनौठो र अचम्मको लाग्ने त्यस सूचनाका विषयमा अनुसन्धान प्रक्रिया अघि बढाउन राजस्वका अधिकारीहरूले थोरै पनि समय खेर फालेनन् । जब अनुसन्धानका क्रममा नयाँनयाँ तथ्य खुले, राजस्वका अधिकारीहरू नै तीनछक परे ।

राजस्वका अधिकारीहरूले पाएको सूचना यस्तो थियो– २५ वर्षका दिनेश खड्का नाम गरेका एक विद्यार्थी नेपाली रुपैयाँलाई डलरमा रूपान्तरण गर्दै विभिन्न ठाउँमा भुक्तानी गर्ने काम गर्छन् ।

राजस्व अनुसन्धान विभागका अधिकृतहरूले पाएको यो सूचना कच्चा खालको थियो । यही कच्चा सूचनाका आधारमा विभागले गरेको अनुसन्धानले भने प्रविधिको सहयोगमा हुने गरेको नयाँ खालको अपराधलाई सतहमा ल्याएको छ ।

नयाँ खालको अपराध अवैध अमेरिकी डलर अपचलनसँग सम्बन्धित छ । जसअनुसार नेपाली रुपैयाँलाई अमेरिकी डलरमा रूपान्तरण गरेर मोबाइल एपमार्फत अज्ञात ठाउँमा भुक्तानी गर्ने गरिएको थियो । यसलाई नेपालमा अवैध मानिएको छ । यसलाई क्रिप्टोकरेन्सीको कारोबार भनेर पनि भनिन्छ ।

आफूलाई प्राप्त सूचनापछि राजस्वका अधिकारीहरूले छानबिन थालेका २५ वर्षका युवक कैलालीको लम्कीचुवा–१० स्थायी ठेगाना भई हाल काठमाडौं कालोपुल बस्ने दिनेश खड्का हुन् । अनुसन्धानका क्रममा उनलाई उसकी दिदी भगवती खड्का र बाबु नरबहादुर खड्काका साथै दिनेशकी साथी अनिता धितालले सहयोग गरेको खुलासा भएको छ ।

कैलालीका खड्का परिवार कुनै ठूलो आय स्रोत भएको परिवार होइन । व्यापार व्यवसायमा पनि लागेका छैनन् । डलरको अपचलनमा संलग्न दिनेश एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु पशुपति क्याम्पस इकाइ सदस्य र उनका बाबु नरबहादुर एमाले सुदूर प्रदेश कमिटी सदस्य हुन् ।

यी व्यक्तिको खातामा तीन महिनाको अवधिमा ३७ करोड रुपैयाँ डिपोजिट भएको फेला परेपछि अनुसन्धान अधिकृत अचम्ममा पर्नु पनि स्वाभाविक नै थियो ।

अनुसन्धान निष्कर्षमा पुगेपछि यी चारै जनाविरुद्ध राजस्व अनुसन्धान विभागले सोमबार जिल्ला अदालत काठमाडौंमा विदेशी विनिमय अपचलनको आरोपमा मुद्दा दर्ता गरेको छ । कुल ३७ करोड ६४ लाख ११ हजार १ सय रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा राष्ट्र बैंकले जारी गरेको सूचनाविरुद्ध कसुर गरेको दाबीसहित विभागले मुद्दा दर्ता गरेको हो । विभागकाअनुसार मुख्य आरोपी खड्कालाई बिगो जफत गरी तीन वर्षबराबरको कैद सजाय माग गरिएको छ । उनीहरूले मिलेमतोमा अनलाइनमार्फत अवैध रूपमा डलरको कारोबार गरेको पाइएको विभागले जनाएको छ ।

आरोपितहरूले तीन महिनाको अवधिमा ३७ करोड ६४ लाख ११ हजार १ सय नेपाली रुपैयाँलाई ३१ लाख २७ हजार ८९६।७९ सेन्ट डलरमा रूपान्तरण गरेर अनलाइनमार्फत स्रोत नखुलेको ठाउँमा भुक्तानी गरेको विभागले जनाएको छ ।

उनीहरूले सामूहिक रूपमा मिलेमतो गरी इ–स्क्रेल र निवांश प्रयोग गरी विदेशी विनिमय अमेरिकी डलरसम्बन्धी कारोबार गरेको पाइएको विभागले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको आजको राजधानी दैनिकमा खवर छ ।

शीर्ष समाचार

धेरै पढिएको