नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वैशाखमा प्रतिनिधिसभको अर्ली इलेक्शन गर्ने प्रतास्ताव गरेको केही दिनमै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २०७९ चैतमा तीन तहको चुनाव एकैपल्ट गर्ने अभिव्यक्ति दिए ।
सत्ता गठबन्धनको घटक दलहरुका नेताले दिएको फरक फरक अभिव्यक्तिले राजनीतिकवृत्तमा तरंग ल्याएको छ ।संविधान अनुसार स्थानीय तहको निर्वाचन वैशाखमा गर्नुपर्ने र प्रतिनिधि सभाको चुनाव २०७९ मंसिरभित्र गरिसक्नुपर्नेबारे निर्वाचन आयोगले जानकारी गराइसकेकोछ । नेकपा एमालेले पनि यसलाई आधार मानेर तोकिएको मितिमा चुनाव गर्न दबाब दिइरहेको छ ।

सत्तारुढ दल नेपाली काँग्रेसभित्र पनि चुनावबारे धारणाहरु आइरहेका छन् । सभापति शेरबहादुर देउवाले आगामी वर्ष तीन तहको चुनाव गर्ने अभिव्यक्ति गरेका छन् । तर, उनले कहिले चुनाव घोषणा गर्ने बोलेका छैनन् । शेखर कोइराला समूहले स्थानीय निकायको निर्वाचन संविधान अनुसार वैशाखभित्र गर्नुपर्नेमा जोड दिएका छन् । प्रकाशमान सिंहले पनि यहीबारे बोलेका छन् । तर, देउवा मौन बसेका छन् ।
चुनाव धकेल्न प्रचण्ड र माधवकुमार नेपाल लागेको स्पष्ट संकेतहरु मिलिसकेको छ । प्रचण्ड स्थानीय चुनाव पछि या प्रतिनिधि सभा चुनाव सँगै गर्ने पक्षमा छन् । उनीनिकट कानून व्यवसायीले यही बोली बोलेका छन् ।
तीन तहको चुनाव मंसिर या चैत्रमा गरेमा प्रधानमन्त्री पद लम्ब्याउन सकिने देउवाको बुझाई देखिन्छ । यसकारण उनी प्रचण्ड र माधव नेपालको बोलीलाई मौन समर्थन दिइरहेका छन् । चुनाव धकेलेर प्रचण्ड र माधव नेपालले शक्ति सञ्चयको समय लिएको देखिदैछ । उनीहरु एक भएर चुनावमा जाने तयारीमा छन् ।







