
बिरगंज, युवाहरुले प्रदेश नम्बर २ को स्थायी राजधानी वीरगन्जलाई बनाउन माग गर्दै मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि धर्ना दिदै प्रदर्शन गरेका छन् । आज बिहान वीरगन्ज महानगरपालिका—१३ तेजारथ टोलमा मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि युवाहरुले प्रदर्शन गरेका हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का युवा नेताहरुको नेतृत्वमा भएको सो प्रदर्शनमा सहभागीहरुले बिरगंजलाई राजधानी कायम गर्न माग गरेका हुन् । यसैगरी मुख्यमन्त्री चाहिँदैन वीरगन्ज बेच्न पाइँदैन, वीरगन्जवासी जिन्दावाद लगायतका नारा पनि लगाएका थिए ।
यसैगरी प्रदेश २ को स्थायी राजधानी टुङगो लगाउन प्रदेशसभामा सोमबार मतदान हुँदैछ भने प्रदेश राजधानीका लागि हालको अस्थायी राजधानी जनकपुरधाम र वीरगन्जगरी दुईवटा फरक—फरक प्रस्ताव पेश भएको छ ।







