
काठमाडौं, विश्वव्यापी महामारी कोरोना भाइरसको नयाँ स्वरूप ओमिक्रोन भेरियन्ट संक्रमण फैलिएसँगै नेपालमा हाल कोरोनाको तेस्रो लहर सुरु भएको हो ।
यसैबीच पछिल्लो समय धमाधम राजनीतिक दलका नेता कार्यकर्ता संक्रमित भइरहेका छन् । पहिलो र लहरमा जोगिएका नेताहरू तेस्रो लहरमा धमाधम संक्रमित हुँदै आइसोलेसनमा बसेका छन् ।
माओवादी केन्द्रीय कार्यालयमा अधिकांशलाई कोरोना संक्रमण भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री नेता देवेन्द्र पौडेलसहित दर्जनौँ माओवादी केन्द्रका शीर्ष नेताहरू संक्रमित भएका छन् ।
यसैगरी सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की, डिना उपाध्याय, उमा रेग्मी, इन्द्र बानियाँसहित कांग्रेस शीर्ष नेताहरू संक्रमित भएका छन् ।
उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहित एमालेका शीर्ष नेताहरू संक्रमित हुँदा नेकपा (एकीकृत समावादी) अध्यक्ष माधवकुमार नेपाल, रामकुमार भट्टराई, कल्याणी खड्कासहितका शीर्ष नेतालाई कोरोना संक्रमण भएको छ ।
कोरोना संक्रमित नेताहरू आइसोलेसनमा छन् । तर, संक्रमित पुष्टि हुनुअघि भेट भएका र एउटै बैठकमा बसेका केही नेताहरूलाई भने कोरोना संक्रमण भए ।







