
काठमाडौं, नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण फेरि हिउँदे वर्षा सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी क्षेत्र हुँदै भित्रिएको प्रणालीले बुधवार दिपायलसंगै सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही ठाउँमा सामान्य वर्षा भएको छ ।
आजबाट पश्चिमी न्यूनचापीय प्रणाली देशभर फैलिने र आउने शनिवारसम्म नै वर्षाको सम्भावना छ । आज राति देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिएका छन् ।
यसैगरी आइतवारबाट भने मौसम क्रमिक रूपमा सुधार हुँदै जानेछ । पश्चिमबाट भित्रिएको प्रणाली कमजोर बन्दै जाने भएकाले प्रदेश १ र २ मा भने अरू प्रदेशको तुलनामा वर्षा कम हुने महाशाखाले जनाएको छ ।
हिउँदे वर्षाका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात र दैनिक जनजीवनमा बढी असर पर्नेछ । अबका आउँदो चार दिन सचेत रहन र सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।







