April 23, 2024, Tuesday
२०८१ बैशाख ११, मंगलवार

गरिब भन्दा पनि धनीको आत्महत्या दर बढी

गरिबीका कारण नै अपराध हुन्छ भन्ने सोचले जरो गाडेको समाजमा आत्महत्याको प्रमुख कारण गरिबी हो भनी प्रस्तुत गरिने अस्वभाविक ।आत्महत्या सामाजिक यथार्थ अर्थात् सोसल फेक्ट भनी समाजशास्त्री इमाइल दुर्खाइमले व्याख्या गरेका छन् । उनले सन् १९८७ मा केस स्टडी गरी लेखेको ‘सुसाइड’ पुस्तकमा तथ्य र तथ्याङ्कसहित आत्महत्याको कारणमध्ये गरिबी पनि एक हो तर प्रमुख होइन भनी प्रमाणित गरेका छन् । गरिबले नै अपराध गर्छ र गरिबी नै अपराधको मुख्य कारण हो भन्ने सतही बुझाई हो । आत्महत्या मुख्यगरी गरिबीकै कारणले हुन्छ भन्ने अर्को गलत बुझाई हो । यही बुझाईले समाजमा आत्महत्या कम गर्ने अभियानहरु असफल हुने गरेका छन् ।

आत्महत्या किन हुन्छ भन्ने बुझ्नुपर्दा यसको गहिरो अध्ययनहरुलाई बुझ्न जरुरी हुन्छ । समाजशास्त्री दुर्खाइमले कामदारभन्दा उद्दोगीहरूले आत्महत्या बढी गरेको उल्लेख गरेका छन् । गरिबले भन्दा धनीले आत्महत्या गर्ने गरेको उनको तर्क धेरै समाजमा आजपर्यन्त गरिएका अध्ययन र अनुसन्धानले सिद्ध गरेको छ । सन् २०११ को सेम्टेम्बरमा चाइना डेल्लीको आवरण कथामा गरिबले भन्दा धनीले बढी आत्महत्या गर्ने देखाएको छ । धनीहरू गरिबभन्दा बढी दुःखी हुने मात्र नभई धनी देशका भन्दा गरिब देशका मान्छेहरू बढी खुशी रहनसक्ने देखाएको छ ।

नेपालमा सुरक्षाफौजबाट लिएको तथ्याङ्कलाई मात्र आधार मान्ने हो भने पनि गरिबी आत्महत्याको प्रमुख कारण भन्न मिल्दैन । प्रहरीका उच्च अधिकृतले नै आत्महत्या गरेका घटना छन् । ती आत्महत्या गरिबीको कारण भएको होइनन् । नेपाली सेनामा २०४८ यता १२० भन्दा बढी आत्महत्याका घटना भएका छन् । नियमित तलब, सेवानिवृत्त भएपछि पेन्सनको व्यवस्था भई सामाजिक सुरक्षाको सुनिश्चितताको बाबजुद सेना र प्रहरीमा आत्महत्याका घटना देखिन्छन् । यसले पनि गरिबी आत्महत्याको कारण होइन भन्ने तथ्य पुष्टि हुन्छ ।

आत्महत्या सबैभन्दा बढी गरिबी रहेको क्षेत्रमा भएको छैन । शहरी इलाकामा भएको छ । गरिबीको रेखामुनी रहेका जनता भएको क्षेत्रमा अपराध कम छ । शहरीकरण र तिव्र विकासको चरणमा आत्महत्या बढ्छ । भारतमा आत्महत्या बढी हुने राज्यमा सिक्किम पर्छ शिक्षित प्रतिशत उच्च रहेको राज्यहरू तालिम नाडु र र केरला पनि आत्महत्या बढी हुनेमा पर्छन् । प्रतिव्यक्ति आय र समृद्धिका दृष्टिले सिक्किम उत्कृष्ट राज्यहरूमा पर्छ । नेपालको आत्महत्याको तथ्याङ्क केलाउँदा काठमाडौं उपत्यका र शहरी क्षेत्रमा बढी देखिन्छ । यी क्षेत्रहरू गरिबी बढी रहेको क्षेत्रमा पर्दैन । विकासको गति तिव्र भइरहेको क्षेत्रमा पर्छ ।

आत्महत्याको कारणमध्ये गरिबीलाई केन्द्रित गरी केलाउने प्रवृत्ति हावी हुँदा अन्य पक्ष बेवास्ता हुनेगरेको छ । नेपालमा आत्महत्याबारे भएका अध्ययन, विश्लेषण र समाचारले गरिबीलाई प्रमुख कारण देख्न छाडेको छैन । जुन आफैमा त्रुटी हो । समाजशास्त्रीय दृष्टिकोणमा बढी केन्द्रित भएर मनोवैज्ञानिक पक्ष कारण होइन भन्नु पूर्वाग्रही तर्क हो । सामाजिक पक्ष र मनोविज्ञानबीच अन्र्तसम्बन्ध छ । समाजका घटनाहरूले व्यक्तिमा मानसिक असर पर्छ । जस्तैः समाजले निर्धारण गर्ने लक्ष्य र त्यसलाई छुन आवश्यक आधारहरू कमजोर भएमा व्यक्तिमा विचलन आउँछ । मानसिक रूपमा विक्षिप्त भई अपराधमा लाग्छ । जसमध्ये आत्महत्या पनि एउटा कारण हो । समाजले यो या त्यो बन्नुपर्छ भनेर सिकाउने र दबाब दिने तर त्यो पूरा हुन कठिन हुने भएपछि विचलन आउनु स्वाभाविक हो । आत्महत्या गरिबीका कारण मात्र होइन भन्ने समृद्ध देशहरूका कुलिन व्यक्तिहरूले गरेको आत्महत्याका घटनाले पनि देखाउँछ ।

सुरक्षानिकायमा आत्महत्याको जोखिम
शक्ति र जीवन धान्न सक्ने पैसाको सुनिश्चितताका बाबजुद सुरक्षाफौजमा आत्महत्या बढी देखिन्छ । समाजशास्त्री इमाइल दुर्खिमले पनि सर्वसाधारणमा भन्दा सुरक्षाफौजमा आत्महत्या बढी देखिएको तथ्यबारे उल्लेख गरेका छन् । उनको प्रशिद्ध कृति सुसाइडमा यसबारे प्रष्ट पारिएको छ ।

नेपालमा पनि सुरक्षा निकायका उच्च देखि तल्लो तहमा रहेकाहरुले आत्महत्या गरेको घटना रेकर्ड छ । ९ पौषमा नेपाल प्रहरीका एसएसपी सुशिलकुमार यादव सरकारी निवासमै झुण्डिएको अवस्थामा फेला परे । यो आत्महत्या हो वा होइन अनुसन्धानको विषय बनेको छ ।

९ माघ २०६७ मा बहालवाला डिआइजी कञ्चन थापाले आत्महत्या गरेका थिए । उनी नेपाल प्रहरीमा भविष्य भएका प्रहरी अधिकृतमा पर्दथे । थापाले बसुन्धराको सृजनाटोलस्थित घरमा आत्महत्या गरेका थिए । उनले दायाँ कन्चटमा गोली हानेका थिए ।

१४ कात्तिक २०६९ मा सशस्त्र प्रहरी बलका डिएसपी वसन्त थापाले आफ्नै गोकर्णस्थित रुखमा झुण्डिएर आत्महत्या गरे । उनले सुसाइड नोटमा पारिवारिक कारणले आत्महत्या गरेको लेखेका थिए ।

११ जेठ २०७७ मा महानगरीय प्रहरी वृत्त स्वयम्भुमा कार्यरत असई महेश कार्कीले टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेका थिए । उनले ड्युटी पछि पेस्तोलले आफैलाई टाउकोमा गोली प्रहार गरेका थिए ।

३० वैशाख २०७८ मा पूर्वएआइजी कमलसिंह बमको घरमा कार्यरत प्रहरीले झुन्डिएर आत्महत्या गरेका थिए । काठमाडौंको मुलपानीस्थित ग्रिनहिल सिटीमा रहेको बमको घरमा प्रहरी परिचर बासुदेव धमलाले आत्महत्या गरेका थिए ।

२८ मंसिर २०७७ मा चितवनमा प्रहरी हवल्दारले आत्महत्या गरे । ३५ वषीृय होमप्रसाद ढकालले घर नजिकैको आँपको रुखमा पासो लगाई झुन्डिएर आत्महत्या गरेका थिए ।

किशोरी जिस्क्याएको उजुरी परेपछि पाँचथरको फिदिममा कार्यरत प्रहरी जवान मानबहादुर बिष्टले १२ जेष्ठ २०७५ मा आत्महत्या गरे । उनलाई पक्राउ गरेर ल्याउन जिल्लाबाट आदेश गएको थियो । त्यसको जानकारी पाएलगत्तै उनले आत्महत्या गरेका थिए ।

१५ असार २०७७ मा सुनसरी जिल्ला अदालतमा कार्यरत प्रहरी हवल्दारले आफैले बोकेको पेस्तोलबाट गोली हानी आत्महत्या गरेका थिए । उनले कञ्चनमा गोली हानेका थिए ।

१३ जेठ २०७५ मा उदयपुरमा एकजना सशस्त्र प्रहरी हवल्दारले आत्महत्या गरेका थिए । उनले सुसाइड नोट लेखेर ब्यारेक नजिकै झुण्डिएर आत्महत्या गरेका थिए ।
१४ भदौ २०७७ मा जंगी अड्डास्थित पेट्रोल पम्पमा ड्युटीमा रहेका जवानले आफैले बोकेको हतियार प्रहार गरी आत्महत्या गरेका थिए ।

७ असार २०७८ मा पर्साको चण्डीप्रसाद गणका सिपाहीले आफैलाई गोली हानी आत्महत्याको प्रयास गरे । उनले हानेको गोलीले मुखभर चोट लागेको थियो ।यी घटना विभिन्न कारणले भए । यसबारे प्रहरीले अनुसन्धन गर्यो । सेनाले पनि आफ्नै तरिकाले अध्ययन गरेर सरकारलाई सुझाव दिएको थियो । जसमा गरिबी मुख्य कारण होइन भन्ने प्रष्ट उल्लेख गरियो ।

१२ साउन २०७६ मा भ्रष्टाचार काण्डमा बदनाम भएपछि ललिता निवास जग्गामा मुछिएका डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा युक्तप्रसाद श्रेष्ठले माछापोखरीको भवनको आठौं तल्लाबाट हामफालेर आत्महत्या गरे ।

३ साउन २०७६ मा त्रिवि सेवा आयोगका रामबहादुर पाण्डेले पनि त्रिपुरेश्वको भवनको पाचौं तल्लाबाट हाम फालेर आत्महत्या गरे ।

२६ साउन २०७६ मा आफू भ्रष्टाचारी नभएको सुसाइड नोट लेखेर कलंकी मालपोतका पूर्व कर्मचारी हरिप्रसाद आचार्यले उदयपुरमा आत्महत्या गरे । उनले तत्कालीन अख्तियार प्रमुख नवीन घिमिरेको २०० वर्ष आयु होस् भनी सुसाइड नोट लेखेका थिए ।

२० असोज २०७८ मा नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चर्तुवेदीले चाबहिलस्थित गौतम अग्रवालको निर्माणाधीन घरको छतबाट हाम फालेर आत्महत्या गरे । उनको परिवारले आत्महत्या नभई दुर्घटनावश खसेको दाबी गरेको थियो । चर्तुवेदीमाथि पनि भ्रष्टाचारको आरोप लागेको थियो ।

आत्महत्याको कारण
आत्महत्याको मुख्य कारण नै सामाजिक परिस्थिति हो । त्यो पेशा, क्षेत्र, परिवार जुनसुकैसँग सम्बन्धित हुनसक्छ । नेपाली समाज व्यक्तिवादतर्फ लम्कदैछ । सामुदायिक भावना कमजोर हुँदैछ । सामूहिक सचेतनामा असर परेको छ । परम्परागत संस्थाहरू बिघटन हुँदैछन् । परिवार संयुक्तबाट एकात्मकतर्फ लम्कदैछ । बलियो समुदायको समाजसँग साइनो कमजोर हुँदैछ । एक अर्काप्रति सहयोगी भावनामा कमी आइसक्यो । आपसी सहयोग र समन्वयको अभावमा व्यक्ति बेसहारा जस्तै बन्दा आत्महत्याको सम्भावना बढेको छ । विशेषगरी शहर र शहरोन्मुख क्षेत्रमा समस्या छ ।

देशमा बेरोजगरी बढ्दो छ । अर्कोतर्फ उपभोक्तावादले जरो गाडिसक्यो । कमाई र आवश्यकताबीच तारताम्य मिलेको छैन ।सामाजिक सम्बन्धहरूको परिभाषा बदलिदैछ । व्यक्ति र समाज त्यस अनुकूल चल्न कठिन भइरहेछ । थोरै व्यक्तिमात्र उपभोक्तावादबाट लाभ लिइरहेका छन् । धेरै व्यक्तिहरू आवश्यकता पूरा गर्न नसकेर विचलित छन् । आफ्नो निकटका साथी, छरछिमेक र समुदायका सामु कुनैपनि व्यक्ति कमजोर बनेर रहन गा¥हो मान्छ । मानवीय स्वभाव नै हो कि ऊ अरूभन्दा बलियो बन्न चाहन्छ । छेउछाउका सामु कमजोर बन्न वाध्य हुनुपर्दा आवश्यकता पूर्तिका लागि अपराधमा होमिन पुग्छ । आत्महत्याको बाटो पनि रोज्नसक्छ । सन् २०१२ मा अमेरिकाको सान फ्रान्सिस्कोमा गरिएको अध्ययनले छिमेकभन्दा कम आम्दानी भएकाहरूमा आत्महत्या बढी देखियो । जुन आर्थिक विभेदले आत्महत्यातर्फ धकेलेको सान्दर्भिक तथ्य हो ।

गरिबहरू धनीभन्दा पीडा खप्न सक्दैनन् भन्ने तर्क गलत सावित भइसकेको छ । बरू धनीहरू पीडा खप्न सक्दैनन् । नेपालमा धनीले बढी आत्महत्या गर्छ या गरिबले गरेको छ अध्ययनको विषय हुनसक्छ । विदेशमा गरिएका अध्ययनहरूले उच्च वर्गकाहरूले बढी आत्महत्या गरेको देखाएको छ । गरिबी र आत्महत्यालाई एक अर्कासँग जोडेर हेर्न सकिएला । तर, गरिबी नै आत्महत्याको कारण हो भन्ने तर्कहरू सतही छन् । नेपाल प्रहरीको अधिकारीले अधिकांश गरिब र आर्थिक कारणले आत्महत्या भएको तर्क गरेका छन् । उच्च वर्ग थोरै हुने भएकाले तिनको संख्या कम हुन्छ । उच्च वर्गकाको कुल जनसंख्या र आत्महत्याको कुल संख्यालाई जोडेर हेर्दा औसतमा तथ्याङ्क पत्ता लाग्छ । अर्को महत्वपूर्ण विषय भनेको मध्यम वर्गकाहरूमा हुने आत्महत्या हो । जुन प्रहरीकोमा नपुग्न पनि सक्छ । पुगेपनि त्यत्ति हल्लाखल्ला हुन्न ।

कि त उच्च वर्गको व्यक्तिको आत्महत्या चर्चामा आउँछ कि त गरिबले गरेको आत्महत्या चर्चामा आउँछ । मध्यमवर्गको खासै चर्चामा आउँदैन । प्रहरी तथ्याङ्कमा समेत शंका गर्नुपर्ने ठाउँ छ । आत्महत्याका सबै घटना उजूरीमा पर्दैन । प्रहरी कहाँ प्राप्त तथ्याङ्क नै सबथोक हुनसक्दैन । तैपनि ती तथ्याङ्कहरू उपयोगी र बढी विश्वसनीय हुन्छन् । प्राप्त तथ्याङ्कलाई बढी विश्वसनीय बनाउनका लागि आलोचना र त्रुटीहरू औलाउन जरूरी छ । गरिबको झुपडीलाई आत्महत्या बढी हुने स्थानका रूपमा परिभाषित गर्दा उनीहरूप्रति सहानुभूती बढ्ला । तर समाजको वास्तविकता लुक्छ । गरिबले होइन धनीले बढी आत्महत्या गर्छ । गरिबीले मात्र होइन व्यक्तिलाई विचलित तुल्याउने सामाजिक परिवेशहरूले आत्महत्यातर्फ धकेल्छ ।

लोकलाज हुने घटनाले पनि व्यक्तिलाई आत्महत्यातर्फ धकेल्छ । भ्रष्टाचारको आरोप लागेपछि कतिपय निलम्बित वा पूर्वकर्मचारीले आत्महत्या गरेको तथ्यांक देखिन्छ । उनीहरुले सुसाइड नोटमा समेत बेइज्जतीको कारण आत्महत्या गरेको उल्लेख गर्ने गरेका छन् । आत्महत्या गर्नेहरु आर्थिक रुपमा सम्पन्न नै देखिन्छन् । गरिबको संख्या नै बढी हुन्छ । यसकारण संख्यामा पनि उनीहरु आत्महत्या गर्नेमा बढी हुनसक्छन् । तर, कम संख्याका भएपनि धनीको आत्महत्या दर बढी भएको पाइन्छ । यसले पनि गरिबभन्दा धनीले बढी आत्महत्या गर्ने गरेको पुष्टि हुनछ ।reporters nepal

शीर्ष समाचार

धेरै पढिएको