नेपालमा एशिया प्यासिफिक एलाईन्स फर डिजास्टर म्यानेजमेन्टले परियोजनाको औपचारिक उद्घाटन गरेको छ ।

एशिया प्यासिफिक एलाइन्स फर डिजास्टर म्यानेजमेन्ट भन्ने एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले समाजकल्याण परिषद् नेपालसँग परियोजनाको सम्झौता गरिसकेपछि आज औपचारिक रुपमा कार्यक्रमको सुरुवात गरेको हाे ।
विपद् व्यवस्थापनमा नेपाल सरकारलाई सहयोग गर्ने र नागरिक समाजका गैरसरकारी संस्थाहरुलाई यसमा जाेड्ने उदेश्यले सम्बन्धित सरोकारवालाहरुलाई जानकारी गराई भविष्यमा आवश्यक सहकार्य गर्न भर्चुअल माध्यमबाट परियोजना उद्घाटन बैठक सम्पन्न गरेको हाे ।
यस वैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरुको सहभागीतामा कार्यक्रमको उद्घाटन गरिएको छ । कार्यक्रममा नेपालबाट समाजकल्याण परिषद्का सदस्यसचिव मनोज भट्ट, गृहमन्त्रालय अन्तर्गत विपद व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव हुमकला पाण्डे, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव कृष्ण प्रसाद पराजुली, एशिया प्यासिफिक एलाइन्सका साझेदार संंस्थाहरु ( राष्ट्रिय व्यवसायिक पहल र युवा विकास केन्द्र) का अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरु, जापानिज राजदुतावास कार्यालयका प्रतिनिधि, एशिया प्यासिफिक एलाइन्सका सदस्य राष्ट्रहरु जस्तै श्रीलंका, इन्डोनिशिया, जापानका प्रतिनिधहरु, विभिन्न अन्य सरोकारवालाहरु र पत्रकारहरु गरी २३ जना व्यक्तिहरुको सहभागीता रहेको थियो ।
उक्त कार्यक्रममा एशिया प्यासिफिक एलाइन्स फर डिजास्टर म्यानेजमेन्ट श्रीलंकाका देशीय प्रमुख, फिरजान हसिमले संस्थाको संक्षिप्त परिचय र रणनीतिको विषयमा प्रष्ट पार्नु भएको थियो ।
एशिया प्यासिफिक एलाईन्स फर डिजास्टर म्यानेजमेन्ट नेपाल कार्यालयका देशीय संयोजक कर्णबहादुर नेपालीले नेपालमा संचालन हुने कार्यक्रमको विवरण लगायत कार्यसंचालन प्रक्रियाबारे विस्तृत जानकारी गराउनु भएको थियोे ।
कार्यक्रममा जापानिज राजदुतावास कार्यालयका आर्थिक सहयोग विभाग प्रथम सचिव मियोकि इसिदा, समाजकल्याण परिषद्का सदस्यसचिव मनोज भट्ट, गृहमन्त्रालयका सहसचिव हुमकला पाण्डे, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव श्री कृष्णप्रसाद पराजुली, राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष, कुशकुमार जोशी, युवा विकास केन्द्रका अध्यक्ष, सञ्जय चौधरी लगायतले आफ्नो मन्तब्य राख्नुभएको थियो ।
साथै कार्यक्रममा पत्रकारहरुले कार्यक्रम संचालन प्रक्रिया र दिगोपनाको विषयमा जिज्ञासा समेत राखेका थिए । कार्यक्रम उपस्थित सबैले कार्यक्रमको सफलताको शुभकामना एवं सहकार्य गर्ने समेत जनाए । यस कार्यक्रमको संचालन कार्यक्रम संयोजक योशिहिरो इमोटोले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन कार्यक्रम व्यवस्थापक काकिजावा फुकुरोले गर्नुभएको थियो ।







