January 21, 2022, Friday
२०७८ माघ ८, शनिबार

बाढीपहिरोका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी सडक सञ्जालसँग जोडियो

काठमाडौं, मंंसिर २९ । बाढीपहिरोका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहान पुनः सडक सञ्जालसँग जोडिएको छ ।

मेलम्ची बजारदेखि आयोजनाको मुहानसम्म अस्थायी सडक र पुल निर्माण गरी सञ्चालनमा ल्याइएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

गत असार १ गते आएको बाढीपहिरोका कारण सडक र पुल बगाउँदा मेलम्चीको मुहान सडकमार्गबाट सम्पर्क विच्छेद भएको थियो । बाढीले आयोजना स्थलसम्म पुग्ने छ किलोमिटर सडक र पाँचवटा पुल बगाएको थियो ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले मेलम्चीको मुहान स्थलसम्म पुग्न अस्थायी रूपमा सडक र पुल निर्माण गरी सञ्चालनमा ल्याइएको जानकारी दिए । यसअघि सडकमार्ग भएर आयोजना स्थलसम्म पुग्न नसक्दा आयोजनाको मुहान, हेड वक्र्स र सुरुङमा पुगेको क्षतिबारे यकिन हुन सकेको थिएन ।

प्रवक्ता पन्तले मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालनमा ल्याउन तयार पारिएको अल्पकालीन कार्ययोजना सम्पन्न गर्न आवश्यक पर्ने डेढ अर्ब रुपियाँका लागि अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेको जानकारी दिए।

बाढीपहिरोले बगाएका संरचनाको स्थायी निर्माणका लागि खानेपानी मन्त्रालय र एसियाली विकास बैङ्कले संयुक्त रूपमा अध्ययन गरिरहेका छन् र अध्ययन प्रतिवेदनका आधारमा स्थायी संरचना निर्माण गरिने छ । गोरखापत्र दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको